(Japan) 23 rd October | 2026 | Friday | 6:44:55 AM || (Nepal) 3:29:55 AM
 
 


परदेशिएका नेपालीको पिडा ! आफ्नै छोरीले जापानमा आमा नचिनेपछि, भाईरल भिडियोको भित्रि कथा

  POSTED ON : Sunday, 23 December, 2018 | Views : 9061

परदेशिएका नेपालीको पिडा ! आफ्नै छोरीले जापानमा आमा नचिनेपछि, भाईरल भिडियोको भित्रि कथा


गोकर्ण अधिकारी-टोकियो ।

कास्की पोखरा लेखनाथ ढोडवेसीका सञ्जयराज धमला जापान बस्न थालेको ६ बर्ष पुग्यो । विद्यार्थी भिषामा जापान अध्ययनका लागि आउनुभएका उहाँ अध्ययनपछि भिषा परिवर्तन गरेर काम गर्नुहुन्छ ।

बिवाह गरेर जापान आउनुभएका उहाँले भिषा परिवर्तन गरेलगत्तै नेपालमा रहेकी जीवनसंगीनीलाई साथैमा ल्याउनुभयो ।

दुखसुखले जापानमा रहँदै आउनुभएका धमलाको २ बर्षअघि छोरी जन्मिइन् । साईरा धमला । जापानमै जन्मेहुर्केकी साईरालाई आमा चन्दाकुमारी चापागाई धमलाले १५ महिनापछि बाध्यतावस नेपालमा घरमा छोडेर आउनुभयो ।

आफ्नो न्यानो काख र भर्खर दुध खान छोडेकी मनको टुक्रा बनेकी ताते ताते हिँड्न सुरु गर्दै गरेकी छोरीलाई आफुभन्दा पर छाड्ने मन वा रहर कसलाई पो हुन्थ्यो र !

परदेशको बाध्यताले सानी छोरिलाई हेरेर बसिरहनुपर्ने दैनिकिलाई केही समयका लागि मात्र भनेपनि छोट्याउने पारिवारिक सल्लाह अनुसार चन्दाकुमारीले छोरीलाई बलिन्द्रधारा आँसु झार्दै नेपालमा छोडेर जापान फर्कनुभयो ।

आमा भनेपछि मरिहत्ते गर्ने पाँच महिना अघिको आफ्नी छोरी नेपालबाट आउने भएपछि चन्दाकुमारीको मनमा हर्ष र अनुहारमा छुट्टै चमक थियो ।

मातृत्वको त्यो मोहले कतिखेर छोरीलाई भेटेर अँगालोमा बेरौंला भन्ने उहाँको रहर त्यतिखेर आँसुबनेर बग्यो, जब पाँच महिनापछि भेटेकी छोरिले आमा 'ममि' भनेर बोलाउँदै झ्याम्मीने वा काखमा जाने होइन उल्टै अँगालोमा लिंदा बस्न नमानेर रुँदै काख छोडिन् ।




भाईरल भिडियो र भिडियो भित्रको कथा

पहिलो पटक जापान आउनुभएकी आमा चन्द्रकला धमला र छोरी साईरालाई एयरपोर्टबाट लिएर सञ्जय धमला गुन्माकेन कोठामा आईपुगे ।

सासु आमा र छोरी लिएर आउँदै गर्दा घरमा खाना र स्वागतमा बस्नुभएको थियो चन्दा कुमारी धमला चापाईगाई अर्थात् फेसबुकमा सञ्जय आरडि नाम लेख्नुभएका उनै सञ्जयराज धमलाकी धर्मपत्नी ।

बाबा भनेर छोरीले गलामा टाँसिने र पितृमोह देखाउने त्यो बालापन नपाएपनि बाटैदेखी आफुलाई ड्याडी भनेपछि धमलालो थोरै मन सन्तोक मान्नुभएको रहेछ ।

घर आईपुगेपछिको भिडियोको घटना सुनाउँदै उहाँले भन्नुभयो-'छोरी साईरा मेरो काखमा बसीराखेकी थिईन् । उनको ममि चन्दाकुमारी चापागाई धमलाले छोरी देख्ने बित्तिकै आएर समातेर बोकेर लैजानुभयो । खुशीले जान नमानेपनि समातेर बोकेपछि गएकी साईरा एकछिनपनि आमाको काखमा रम्न सकिनन् । काखबाट भागेर उनि सिधै आमा भन्दै हजुरआमा चन्द्रकला धमलाको अँगालोमा बेरिन पुगिन् ।'

पाँच महिनापछि भेटेकी छोरिले मायाँले मुई खाँदै रुँदै अँगालोमा बेरिएर बस्लिन भन्ने ठान्नु भएकी चन्दा त्यतिखेर भक्कानिन पुग्नुभयो जतिखेर सासु आमाको अँगालोमा बेरिएकी छोरिलाई बोलाउँदा समेत आफ्नो साथमा आउन मानिनन् । उल्टै उहाँलाई को ? भनेर सोध्दा 'दिदी' भनेपछि उहाँको मातृमोह छचल्किएर आँखाबाट चुहियो र सन्तान पर हुँदाको पिडा आवाज भनेर भक्कानिएर रुवाईमा परिणत भयो ।



'छोरिलाई नेपाल लगेर छाडेको ५ महिना मात्र भयो । हामीले यतिसम्म छोरि फेरिन्छे भन्ने सोचेकै थिएनौं, हामीनै अचम्ममा परेका छौं ।' जापानसमाचारडटकमसँगको कुराकानीका क्रममा सञ्जयराज धमलाले भन्नुभयो हप्तादिन भयो-'छोरी जापान आएको अहिलेचाहिँ बल्ल ममि भन्न थालेकी छिन्, सँगै बस्ने खेल्ने गर्न थोलकी छिन् । तर बाहिर जाने बेलामा आमा भन्दै हजुरआमा खोजि हाल्छिन् । अरुबेलामा ममि भएपनि हुन्छ तर सुत्ने बेलामा आमासँग सुत्ने भन्दै हजुरआमा नभई सुत्नै मान्दिनन् ।'


भिडियो खिच्नुभएका उनै सञ्जयराज धमलासँग गरिएको कुराकानीमा आधारित । 


देशले एउटा कुशल नेतृत्व नपाउँदा नागरिकले भोकेको पिडा


जापान मात्र होइन युरोप, अमेरिका, बेलायत देखी कयौं अफ्रिकी देश, खाडी मुलुकहरु र छिमेकी देशहरुमा समेत रोजगार अध्ययन तथा अन्य कारणले बाध्यतामा रहनपर्दा आफ्ना सन्तानले आफैंलाई नचिन्ने पिडादायी यस्ता बाध्यताका घटना बढ्दो छ ।

मुख्यत बैदेशिक रोजगारीका नामले बढ्दो बिदेश यात्राले परिवारका बिचमा प्रेम अभाव, अभिभावकत्वको कमी, पारिवारिक विछोड देखी दुखद घटनाहरु निम्तने क्रम समेत बढ्दो छ ।

देशमा रोजगार अभाव नै मुल समस्याको जरोको रुपमा रहिरहँदा दशकौंदेखी अनेकखाले राजनीतिक र शासकिय परिवर्तन भईरहेपनि नागरिकका जीवनमा परिवर्तनको त्यो छिटा अझै पर्नसकेको छैन ।

जनताको आकांक्षामा आशाको राजनीति भजाउने घिनलाग्दो नेतृत्व नफेरिंदा समस्या सुल्झँदो होइन थप बल्झँदो छ । सयौं बर्षदेखी रहेको पारिवारिक सामाजिक आधार खण्डहर बनिसक्दा समेत हामी नागरिक अझै मौनप्राय रहिरहेका छौं ।

घिनलाग्दो राजनीति गरिरहने यो नेतृत्व फेर्न सबैलाई सँधै उनिहरुको गलत कामको आलोचना र सचेत गराउन जहाँबाट सकिन्छ बोल्ने, लेख्ने अनि प्रश्न गर्ने गरौं ! 'हामी सँधै हाम्रो परिवारसँगै आफ्नै मातृभूमिमा गरिखाने ईलमको साथमा शान्ति र अमनचैनको सासले कहिले बस्न पाउछौं नेता ज्यु ?'