काठमाडौं, नेपाल ।
दुई बर्षअघि ईजरायलद्धारा नियन्त्रित प्यालेस्टाइनी भूमिमा हमासको आक्रमणका क्रममा अपहरणमा परेका नेपाली युवा बिपिन जोशी जिवितै रहेको ताजा खवर बाहिर आएको छ ।
गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका बिपिन जोशी जीवित रहेको हमासले बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । यसअघि उनको अवस्था अज्ञात रहेको समाचार सार्वजनिक भएको थियो ।
तर अहिले अलजजिरा, टाइम्स अफ इजरायल, एपी सहित कयौं सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिन पनि समावेश रहेका छन् ।
शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ मा सुरु भएको दुई वर्षे विनाशकारी युद्ध अन्त्य हुने दिशामा छ। उक्त आक्रमणमा करिब एक हजार २०० जना मारिएका थिए भने २५१ लाई अपहरण गरिएको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ईजरायली नरसंहारमा ६७ हजार भन्दा धेरे प्यालेस्टिनी मारिएका छन्। इजरायली कारबाहीमा ज्यान गुमाउने आधा भन्दै धेरै महिला र बालबालिका छन्। गाजाको २० लाख जनसंख्याको ९० प्रतिशत जनसंख्या विस्थापित भएको छ । १० हजार भन्दा धेरै जनसंख्या बेपत्ता रहेका छन् ।
२५१ मध्ये गाजामा हाल ४८ बन्धक छन्। मृतक २६ बन्धकमा सन् २०१४ मा मारिएका एक इजरायली सैनिकको शव पनि छ। शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। जीवित ठानिएका २२ बन्धकमध्ये जोशी फिर्ता आउने अपेक्षामा देश छ।
शान्ति सम्झौता अनुसार हमासले ढिलोमा मंगलबार भित्र बन्धकहरु रिहा गर्ने बताइएको छ । समय अनुसार नै सबै कुरा अघि बढेमा र ईजरायललाई हस्तान्तरण गरिएका बन्धिहरुलाई बन्धिहरुको ईच्छाअनुसार बाहिर जान दिइएमा बिपिन आगामी साता नेपाल आईपुग्नसक्ने सम्भावना छ । तर ईजरायलले हमासले रिहा गरेका बन्धकहरुलाई लामो समय बाहिरि संसारसँग सम्पर्क गर्न नदिएको तथा मिडियाहरुमा बोल्न रोक लगाएका कारण बिपिनलाई स्वदेश फर्कन केहि समय नदिने सम्भावना बढि छ ।
जोशी आक्रमणअघि एक महिना नेपालबाट इजरायल पुगेका थिए। उनी गाजामा अहिले जीवित एकमात्र गैर–इजरायली बन्धक हुन्। गाजा सीमाको किबुट्ज अलुमिममा काम र कृषि अध्ययनका लागि पुगेका थिए। १७ नेपाली विद्यार्थीमध्ये १० को आक्रमणमा मृत्यु भएको थियो। जोशीले बम आश्रयबाट ग्रेनेड फ्याँकेर धेरैलाई बचाएका थिए। तर आफू घाइते भएर अपहरणमा परेका थिए।
हालै जोशीको परिवारले इजरायली सेनाले प्राप्त गरेको भिडियो सार्वजनिक गरेको थियो। जारी भिडियोमा उनले आफ्नो परिचय दिँदै भनेका छन्, ‘मेरो नाम बिपिन जोशी हो, म नेपालबाट आएको हुँ। म यहाँ सिक्न र कमाउन कार्यक्रममा कृषि फार्ममा काम गर्दैछु।’ यो भिडियो २०२३ को नोभेम्बरको मानिएको छ। यसले उनी जीवित रहेको प्रमाण दिएको परिवारले दाबी गरेको छ।
उनकी बहिनी पुष्पा जोशी र आमा पद्मा जोशी बिपिनको रिहाइका लागि इजरायलसम्म पुगेका थिए। उनको परिवारले अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग बिपिनको रिहाइका लागि अपिल गरेको थियो।
बिपिनसँगै जीवित ठानिएकामा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ(दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ(चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर, मातान जंगाउकर छन् ।