(Japan) 15 th January | 2025 | Wednesday | 5:08:15 PM || (Nepal) 1:53:15 PM
 
 


फेरी म्याद थप : कास्की अदालतबाट लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

  POSTED ON : Friday, 13 December, 2024 | Views : 362

फेरी म्याद थप : कास्की अदालतबाट लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


पोखरा, नेपाल । 

कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ।  


जिल्ला अदालत कास्कीले लामिछानेसहित चारजनालाई  अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो। म्याद थपका लागि बिहीबार बिहान लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाइलाई अदालत उपस्थित गराइएको थियो ।


लामिछानेविरुद्ध कास्की,काठमाडौं, चितवन, रुपन्देही र पर्सामा उजुरी परेको थियो। पाँचवटै जिल्लामा उनीसँग बयान लिइसकेको छ। बयान सकिएकाले प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ।


उनीविरुद्ध प्रहरीले सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ। 


सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएका लामिछानेलाई बयान सकिएपछि बुधबार पोखरा पठाएको थियो। 


सहकारीको रकम गोरखा मिडियामा लगेकोमा त्यसको खर्च गरेर अपचलन गरेको आरोपमा प्रहरीले कार्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा लगेको थियो ।


सहकारी ठगी प्रकरणमा लामिछानेलाई अनुसन्धानका लागि यसअघि रुपन्देही ,काठमाडौं र चितवनका जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो। संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन,बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था,काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था,वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहरकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोप छ ।


सहरकारी विशेष छानबिन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई, सदस्य कुमार रम्तेल र सञ्चालक छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो।  सहकारीको रकम अपचलनको मुख्य योजनाकार मानिएका जिबी राई फरार छन्। लामिछानेमाथि भने तत्कालीन प्रबन्ध निर्देशक रहँदा गोरखा मिडिया नेटवर्कमा गएको पैसा खर्च गरेको छ ।