सहरका अति नै ब्यस्त चौबाटाहरूमा
जुधिरहेछन् बेकामे बुढा साँढेहरू
मिचिरहेछन् अबोध बाच्छाहरू
र तर्साइरहेछन् पैदल यात्रीहरू
अहङ्कारको जुरो हल्लाउँदै
सुत्केरी बोकेको एम्बुलेन्सलाई हिर्काउँछन्
अशक्त ह्वीलचेयरहरूलाई लछार्छन्
साँझ बिहान गुजारा चलाइरहेका ठेलागाडाहरू पछार्छन्
सडक छेउँका साग सब्जी पसलमा मुख गाड्छन्
अबलाहरूलाई चिहाउँछन् र उत्तेजना पोख्छन्
भट्टीहरूमा छिर्छन् र मत्ताउँदै निस्कन्छन्
उनीहरूलाई
उज्यालो मन पर्दैन -सडकबत्ती फुटाइदिन्छन्/ढलाइदिन्छन्
सुन्दरता मन पर्दैन- बाटा छेउँका फूल उडाइदिन्छन्/ चपाइदिन्छन्
स्निग्धता मन पर्दैन- यत्रतत्र गोबरका थुप्रा लडाइदिन्छन्
शान्ति मन पर्दैन- हुँकार छोड्दै हिडिदिन्छन्
अदालतका भित्ताहरूमा लात्ता बजार्छन्
इतिहासका स्तम्भहरूमा टाउका ठोक्छन्
मन्दिरका भित्ताभरि पुच्छरले फोहोर छ्याप्छन्
विद्यालयका ढोकाहरूमा ढाड घिसार्छन्
झुप्रा झुप्रीहरूका छाना थुत्छन्
कल कारखानाहरूमा सिङ उधिन्छन्
दौडिएर पुग्छन् बिदेशी दुतावासका गेट अगाडि
र बडो आज्ञाकारी बनेर सुँघसुँघाउन थाल्छन्।
फुक्लिएको रगताम्मे सिङ बोकेर दाइँ हानिरहन्छन् अनियन्त्रित
दौड्छन् खेत खेतमा र बनाइरहन्छन् सोत्तर भर्खर सारेका बिरुवाहरू
खोसर्छन् पाखाहरू र झारिदिन्छन् गरीबका आँगनमा पहिराका ढिस्कानाहरू
खसालिदिन्छन् ढुङ्गाहरू र मिचिदिन्छन् उड्न तयार चल्लाहरू
कोही नहाँसून, चैनले नबाँचून् भन्छन्
आत्मनिर्भर नबनून्, स्वाभिमानी नबनून् भन्छन्
बरू उनीहरू आफूले आफैलाई नन्दी भृङ्गी ठान्छन्
जयजयकारमा फूल माला बर्साउन लगाउँछन्
र आत्मरतिमा रमाइरहेछन्।
साँढेहरूलाई थाहा छैन
उनीहरूका रगताम्मे सिङमा औँसा परिसके
अहङ्कारका जुरा कुहिदै छन्
अत्याचारी खुरहरू भाँचिदै छन्
अब पतनको सुरुवात भैसक्यो
किसानहरू हो अब थोरै समय धैर्य गरौँ
मजदुरहरू हो अब थोरै समय धैर्य गरौँ
नगरवासीहरू हो अब थोरै समय धैर्य गरौँ
र खाडल खन्न सुरु गरौँ।
...
(यो कविता कवि शरद पोख्रेलको कविता संग्रह 'मरुभूमिमा डुङ्गा'मा संग्रहित छ ।)