टोकियो, जापान ।
जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले सोमबार उनको निधनको जानकारी सार्वजनिक गरेको हो ।
पार्टीका अनुसार फुकुदाको अक्टोबर २२ मा टोकियोस्थित एक अस्पतालमा हृदयाघात नभई हृदयको कार्यविफलता (हार्ट फेलियर) का कारण निधन भएको हो । उनी सन् २००७ सेप्टेम्बरदेखि २००८ सेप्टेम्बरसम्म जापानको प्रधानमन्त्री रहेका थिए ।
९० बर्षको उमेरमा निधन भएका फुकुदा जापानका ९१ औँ प्रधानमन्त्री थिए । उनी जापानको आधुनिक संवैधानिक इतिहासमा आफ्ना बुबापछि प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति थिए । उनका बुबा ताकेओ फुकुदाले सन् १९७६ देखि १९७८ सम्म जापानको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । बाबु र छोरा दुवै प्रधानमन्त्री बनेको यो राजनीतिक विरासतले फुकुदालाई जापानी राजनीतिमा विशिष्ट स्थान दिलाएको थियो ।
चीनसँगको सम्बन्ध सुधारमा महत्त्वपूर्ण भूमिका
फुकुदा एसियाली मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्ने पक्षमा उभिने जापानी नेताका रूपमा परिचित थिए । विशेषगरी चीनसँगको सम्बन्ध सुधार गर्नु उनको विदेश नीतिको महत्त्वपूर्ण प्राथमिकता थियो । जापान र चीनबीच ऐतिहासिक विवाद तथा राजनीतिक मतभेद कायम रहेका बेला उनले संवाद र कूटनीतिक सहकार्यलाई प्राथमिकता दिएका थिए ।
प्रधानमन्त्री बनेको केही समयपछि नै उनले चीनको भ्रमण गरेका थिए । सन् २००८ को मेमा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओले जापानको भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा दुवै देशले आपसी सम्बन्धलाई थप सुदृढ बनाउने र ‘रणनीतिक पारस्परिक लाभदायक सम्बन्ध’ विकास गर्ने दिशामा जोड दिएका थिए । हुको भ्रमण करिब एक दशकपछि जापान आएका पहिलो चिनियाँ राष्ट्राध्यक्षको भ्रमणका रूपमा महत्त्वपूर्ण मानिएको थियो ।
फुकुदाको कूटनीतिक दृष्टिकोणमा छिमेकी मुलुकहरूको संवेदनशीलतालाई सम्मान गर्ने र अनावश्यक तनाव बढ्न नदिने नीति प्रमुख थियो । जापानको युद्धकालीन इतिहाससँग सम्बन्धित विवादास्पद यासुकुनी मन्दिरको विषयमा पनि उनले संयमित दृष्टिकोण प्रस्तुत गरेका थिए । उनको यस्तो शैलीले चीनलगायत एसियाली मुलुकहरूसँग सम्बन्ध सुधार गर्ने प्रयासलाई बल पुर्याएको थियो ।
राजनीतिमा प्रवेश र प्रधानमन्त्रीसम्मको यात्रा
सन् १९३६ जुलाई १६ मा जन्मिएका फुकुदाले वासेदा विश्वविद्यालयबाट अर्थशास्त्र अध्ययन गरेका थिए । राजनीतिमा प्रवेश गर्नुअघि उनले निजी क्षेत्रमा काम गरेका थिए । त्यसपछि आफ्ना बुबा ताकेओ फुकुदाका राजनीतिक सचिवका रूपमा काम गर्दै राजनीतिक गतिविधिमा संलग्न भए ।
सन् १९९० मा उनी जापानको प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनले लगातार निर्वाचन जित्दै राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव विस्तार गरे । सन् २००० मा प्रधानमन्त्री योसिरो मोरीको मन्त्रिपरिषद्मा मुख्य मन्त्रिपरिषद् सचिव नियुक्त भएपछि उनको राष्ट्रिय राजनीतिक भूमिका थप प्रभावशाली बनेको थियो । उनले जुनिचिरो कोइजुमी प्रधानमन्त्री हुँदा पनि उक्त जिम्मेवारी निरन्तरता दिएका थिए । सन् २००० देखि २००४ सम्म मुख्य मन्त्रिपरिषद् सचिवका रूपमा काम गर्दा उनले सरकारको प्रशासनिक समन्वय र सञ्चार व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
सन् २००७ मा तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिएपछि फुकुदा सत्तारुढ एलडीपीको नेतृत्वमा पुगे र सेप्टेम्बरमा प्रधानमन्त्री बने । तर, उनको कार्यकाल लामो हुन सकेन।
विभाजित संसद् र राजीनामा
फुकुदाको प्रधानमन्त्री कार्यकालमा जापानको संसद्मा राजनीतिक गतिरोध प्रमुख चुनौती बनेको थियो । सन् २००७ को निर्वाचनपछि विपक्षी दलहरूले संसद्को माथिल्लो सदनमा प्रभाव बढाएका थिए । यसले सरकारलाई विधेयक पारित गर्न र नीतिगत निर्णय कार्यान्वयन गर्न कठिन बनाएको थियो ।
संसद्का दुई सदनबीचको शक्ति सन्तुलनमा देखिएको असहमतिका कारण सरकारको कामकाज प्रभावित भयो । राजनीतिक गतिरोध र सरकार सञ्चालनमा बढ्दो कठिनाइबीच फुकुदाले सन् २००८ सेप्टेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिए । उनले करिब एक वर्ष मात्र सरकारको नेतृत्व गर्न पाए । त्यसपछि तारो आसोले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
अन्तर्राष्ट्रिय कूटनीतिमा योगदान
प्रधानमन्त्रीका रूपमा फुकुदाले अन्तर्राष्ट्रिय सहकार्यलाई पनि प्राथमिकता दिएका थिए । सन् २००८ मा जापानको होक्काइदोस्थित तोयाकोमा आयोजित जी–८ शिखर सम्मेलनको अध्यक्षता गर्नु उनको कार्यकालको एउटा महत्त्वपूर्ण उपलब्धि थियो । उक्त सम्मेलनमा विश्व अर्थतन्त्र, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय विकासजस्ता विषयमा छलफल भएको थियो ।
उनले दक्षिण कोरियासँगको सम्बन्ध सुधार गर्न पनि प्रयास गरेका थिए । तत्कालीन दक्षिण कोरियाली राष्ट्रपति ली म्युङ बाकसँगको भेटवार्तामा उनले भविष्यकेन्द्रित जापान–दक्षिण कोरिया सम्बन्धको आवश्यकतामा जोड दिएका थिए । यसले छिमेकी देशहरूसँग संवाद र सहकार्य विस्तार गर्ने उनको नीतिलाई प्रतिबिम्बित गर्छ ।
प्रधानमन्त्री पद छाडेपछि पनि फुकुदा एसियाली कूटनीतिमा सक्रिय रहे । सन् २०१२ मा सक्रिय संसदीय राजनीतिबाट बाहिरिएपछि उनले जापान र चीनबीचको सम्बन्ध सुधारका लागि विभिन्न प्रयास जारी राखेका थिए । सन् २०१४ मा चीन भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका थिए । जापान–चीन सम्बन्धमा तनाव देखिएका बेला पनि संवादको बाटो खुला राख्न खोज्ने उनको प्रयासलाई कूटनीतिक वृत्तमा महत्त्वपूर्ण मानिएको थियो ।
जापानी राजनीतिमा रहनेछ उनको विरासत
फुकुदाको राजनीतिक जीवनमा सफलता र चुनौती दुवै थिए । प्रधानमन्त्रीका रूपमा उनको कार्यकाल छोटो भए पनि एसियाली छिमेकीहरूसँगको सम्बन्ध सुधार, संयमित विदेश नीति र अन्तर्राष्ट्रिय सहकार्यप्रतिको प्रतिबद्धताका कारण उनी स्मरणीय रहनेछन् ।
जापानका वर्तमान प्रधानमन्त्रीले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै फुकुदाले सरकारको नेतृत्व गर्दा जनजीवन सुधार र अन्तर्राष्ट्रिय मुद्दाहरूको समाधानका लागि योगदान दिएको बताएका छन् । जापानी सरकारका अनुसार उनले उपभोक्ता प्रशासनलाई सुदृढ बनाउन र तोयाको जी–८ शिखर सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायमा जापानको भूमिका प्रभावकारी बनाउन प्रयास गरेका थिए ।
फुकुदाको निधनसँगै जापानले यस्तो नेता गुमाएको छ, जसले राजनीतिक मतभेद र क्षेत्रीय तनावबीच पनि संवाद तथा कूटनीतिक सहकार्यलाई महत्त्व दिएका थिए । विशेषगरी जापान र चीनबीच सम्बन्ध सुधार गर्न उनले गरेको प्रयास उनको राजनीतिक विरासतको महत्त्वपूर्ण पक्षका रूपमा रहनेछ । जुन अहिले जापान र चीन बिचको कुटतापूर्ण सम्वन्ध रहिरहँदा फुकुदा जस्तै छिमेकी देशसँग मित्रतापूर्ण सम्पन्ध राख्ने नेताको खोजि जापानले गरिरहेको छ ।