(Japan) 7 th October | 2026 | Wednesday | 11:15:55 AM || (Nepal) 8:00:55 AM
 
 


जापान-चीन सम्बन्ध सुधार्ने प्रधानमन्त्री ताकाइचीको संकेत, घट्दो जनसंख्याको अवस्थालाई ‘राष्ट्रिय संकट’को संज्ञा

  POSTED ON : Wednesday, 07 October, 2026 | Views : 26

जापान-चीन सम्बन्ध सुधार्ने प्रधानमन्त्री ताकाइचीको संकेत, घट्दो  जनसंख्याको अवस्थालाई ‘राष्ट्रिय संकट’को संज्ञा


टोकियो, जापान ।

जापानी प्रधानमन्त्री सानाए ताकाइचीले चीनसँग रचनात्मक र स्थिर सम्बन्ध निर्माण गर्न संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

अक्टोबर ५ मा संसदमा नीति वक्तव्य दिँदै ताकाइचीले चीनलाई जापानको ‘महत्त्वपूर्ण छिमेकी’ भन्दै साझा चुनौतीमा संवाद अघि बढाउने बताइन् । उनले जापानले आफ्ना राष्ट्रिय हित र अडानमा दृढ रहने तथा चीनबाट जिम्मेवार व्यवहारका लागि आग्रह गरिरहने पनि स्पष्ट पारिन् ।

जापान–चीन सम्बन्ध पछिल्लो समय सानाए ताकाइची सरकार र उनको विवादास्पद अभिव्यक्ति पश्चात तनावपूर्ण बनेको छ । गत वर्ष ताकाइचीले ताइवानमाथि चीनले आक्रमण गरे जापानले हस्तक्षेप गर्न सक्ने संकेत दिएपछि बेइजिङले कडा प्रतिक्रिया जनाएको थियो । त्यसपछि चीनले आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न चेतावनी दिनुका साथै जापानी कम्पनीलाई आवश्यक पर्ने दुर्लभ खनिज पदार्थको आपूर्तिमा व्यापारिक प्रतिबन्ध कडा पारेको बताइएको छ ।

यसैबीच, ताकाइची सरकारले जापानमा तीव्र रूपमा घटिरहेको जनसंख्यालाई सम्बोधन गर्न वर्षको अन्त्यसम्म व्यापक रणनीति तयार गर्ने घोषणा गरेको छ । उनले जनसंख्या घट्ने अवस्थालाई ‘शान्त रूपमा अघि बढिरहेको राष्ट्रिय संकट’ को संज्ञा दिइन् । सरकारी तथ्यांक अनुसार जापानमा बसोबास गर्ने जापानी नागरिकको संख्या ४२ वर्षपछि पहिलोपटक १० करोड २० लाखभन्दा तल झरेको छ ।

संसदको चालु अधिवेशनमा महँगी नियन्त्रण, खाद्यवस्तुको उपभोग कर दुई वर्षका लागि घटाउने योजना तथा अर्थतन्त्र र सरकारी ऋण व्यवस्थापनसम्बन्धी विषय पनि प्राथमिकतामा रहनेछन् ।