टोकियो, जापान ।
जापानको ओकिनावामा लुटपाट र हत्या गरेको आरोपमा अमेरिकी सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय डेभिन ज्याकब बल्लार्ड रहेका छन् । उनी अमेरिकी मरीन कोर्प्सको फुतेन्मा एयर स्टेसनमा कार्यरत रहेको जापानी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ३९ वर्षीया यागी अन्नाशनिबार बिहान करिब ४ः३० बजे नाहा सहरस्थित एउटा होटलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको थियो । शरीरको अवस्थाबाट उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।
घटनापछि मृतकका केही सामान होटल नजिकै फालिएको अवस्थामा भेटिएपछि प्रहरीले घटनालाई लुटपाटसहितको हत्याका रूपमा अनुसन्धान गरिरहेको छ ।
होटलको सुरक्षा क्यामेराको फुटेजमा विदेशी जस्तो देखिने कपाल खौरिएको एक पुरुष एक महिलासँग होटल प्रवेश गरेको र पछि ती महिलाका सामान लिएर बाहिरिएको देखिएको बताइएको छ।
तर पक्राउ परेका बल्लार्डले आरोप अस्वीकार गर्दै आफूलाई “थाहा छैन” भनेका छन् । प्रहरीले घटनाको विस्तृत परिस्थितिबारे अनुसन्धान जारी राखेको छ।
जापानले अमेरिकासँग कडा विरोध जनायो
अमेरिकी सैनिक पक्राउ परेपछि जापान सरकारले अमेरिकासमक्ष कडा विरोध जनाएको छ ।
परराष्ट्र मन्त्रालयका उपमन्त्री फुनाकोशी ताकेहिरोले आइतबार बिहान अमेरिकी राजदूत जर्ज ग्लाससँग फोनवार्ता गर्दै घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले अनुसन्धानमा पूर्ण सहयोग गर्न र अमेरिकी सैनिकबीच अनुशासन कडा बनाउन अमेरिकासँग माग गरेका छन् ।
अमेरिकी राजदूत ग्लासले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै जापानी अधिकारीसँगको अनुसन्धानमा पूर्ण सहयोग गर्ने र यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्ने बताएका छन् ।
प्रधानमन्त्री ताकाइची सानाएले पनि सामाजिक सञ्जालमार्फत घटनालाई अत्यन्त क्रूर र गम्भीर भन्दै अमेरिकासँग अनुसन्धानमा पूर्ण सहयोग, अमेरिकी सैनिकको अनुशासन सुदृढीकरण तथा पुनः घटना हुन नदिने प्रभावकारी उपाय अपनाउन माग गरिएको बताएकी छन् ।
रक्षा मन्त्री कोइजुमी शिन्जिरोले घटनाप्रति आक्रोश व्यक्त गर्दै अमेरिकी पक्षलाई सैनिकलाई आवश्यक शिक्षा दिन र पीडित परिवारप्रति उचित प्रतिक्रिया दिन आग्रह गरिएको बताएका छन् ।
अमेरिकी दूतावासले पनि एक विज्ञप्तिमार्फत पक्राउ परेका सैनिकबारे आफूहरू जानकार रहेको र जापानी सरकार तथा स्थानीय अधिकारीसँग निरन्तर सम्पर्क र सहकार्य गरिरहेको जनाएको छ । दूतावासले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
ओकिनावामा अमेरिकी सैनिकसँग सम्बन्धित घटना र दुर्घटना स्थानीय बासिन्दाका लागि लामो समयदेखि संवेदनशील विषय रहँदै आएको अवस्थामा पछिल्लो घटनाले फेरि अमेरिकी सैन्य उपस्थितिसम्बन्धी चिन्ता बढाउने देखिएको छ ।