टोकियो, जापान ।
टोकियोको शिबुया वार्डले यस बर्षपनि ह्यालोविनका बेला शिबुया स्टेसन आसपासका पसल तथा कन्भिनियन्स स्टोरहरूलाई रक्सी बिक्री नगर्न आग्रह गर्ने भएको छ । भीडभाडका कारण दुर्घटना तथा सार्वजनिक स्थानमा हुने समस्या रोक्न यस्तो कदम चाल्न लागिएको वार्डका अधिकारीहरुले बताएका छन् ।
हरेक वर्ष अक्टोबर ३१ मा ठूलो संख्यामा युवा तथा विदेशी पर्यटक शिबुयामा भेला हुने गर्छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा शिबुया वार्डका मेयर हासेबे केनले ह्यालोविनका क्रममा सार्वजनिक स्थानमा समस्या सिर्जना नगर्न आग्रह गरे ।
मेयर हासेबेले सडकमा कस्ट्युम लगाएर फोटो खिच्ने कार्यले समेत अन्य मानिसलाई असहज बनाउन सक्ने भन्दै संयम अपनाउन आग्रह गरे । उनले सडकमा मदिरा सेवन नगर्न र फोहोर नफाल्न सार्वजनिक अपिल गरेका छन् ।
प्रशासनका अनुसार अक्टोबर ३० देखि प्रसिद्ध हाचिको कुकुरको मूर्ति आसपासको क्षेत्र बन्द गरिनेछ । साथै, कन्भिनियन्स स्टोर लगायत खुद्रा पसलहरूलाई ह्यालोविन अवधिमा मदिरा बिक्री नगर्न आग्रह गरिनेछ । अघिल्ला वर्षझैँ केही क्षेत्रमा सवारी आवागमनमा पनि प्रतिबन्ध लगाइनेछ ।
गत वर्ष वर्षाका कारण ह्यालोविनमा शिबुया आउने मानिसको संख्या उल्लेख्य रूपमा घटेको थियो । तर यस वर्ष अक्टोबर ३१ शनिबार परेकाले ठूलो भीड जम्मा हुने अनुमान गरिएको छ ।
यसैगरी टोकियोको शिन्जुकु वार्डले पनि खाबुकिचो आसपास सडकमा मदिरा सेवन नगर्न आग्रह गर्ने तथा ह्यालोविनको दिनदेखि भोलिपल्ट बिहानसम्म पसलहरूलाई मदिरा बिक्री नगर्न अनुरोध गर्ने तयारी गरेको छ ।