काठमाडौं, नेपाल ।
नेपाल सरकारले जापानका लागि नेपाली राजदूतमा जिज्ञान कुमार थापालाई सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले थापासहित विभिन्न देशका लागि १३ जना प्रस्तावित राजदूतको नाम एकसाथ सिफारिस गरेको हो ।
जापानमा लामो समयदेखि अध्ययन, अध्यापन तथा अनुसन्धानमा संलग्न रहँदै आएका थापासँग जापानको प्रशासन, स्थानीय तह, शैक्षिक संस्था र नेपाली समुदायसँग सहकार्य गरेको अनुभव छ । नेपालबाट जापानमा हुने उच्चस्तरीय भ्रमण तथा विभिन्न सरकारीस्तरका कार्यक्रमहरूमा समेत थापाले समन्वयकारी भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।
थापाले जापानको योकोहामा नेशनल युनिभर्सिटीबाट ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा कानुन’ विषयमा स्नातकोत्तर गर्नुभएको छ । जापानमा रहेर शैक्षिक तथा अनुसन्धानमूलक गतिविधिसँगै विभिन्न क्षेत्रका संस्थाहरूसँग सहकार्य गर्दै आउनुभएका उहाँ नेपाल–जापान सम्बन्धका विविध पक्षसँग परिचित व्यक्तिका रूपमा चिनिनुहुन्छ ।
सरकारले विभिन्न क्षेत्रको विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्व अनुभव भएका १३ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा सिफारिस गरेको जनाएको छ ।
राजदूतका लागि सिफारिस भएका नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित देशबाट ‘अग्रिमो’ ९सहमति० मागिनेछ । अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि रहेको छ । यि सबै प्रक्रिया पुरा हुन सामान्यत एक महिनासम्म लाग्नसक्नेछ ।
थापाको नियुक्ति प्रक्रिया पूरा भएमा जापानमा लामो समयदेखि शैक्षिक, अनुसन्धान तथा सामाजिक क्षेत्रमा काम गरेको अनुभव भएका व्यक्तिले नेपालको कूटनीतिक प्रतिनिधित्व सम्हाल्नुहुनेछ । जसले नेपाल जापान सम्वन्ध सुधार तथा जापानमा नेपालको प्रतिनिधित्वमा आशा लाग्दो सुधार आउने अपेक्षा गरिएको छ ।
जापानका लागि नयाँ नेपाली राजदूतको चर्चामा जिज्ञान कुमार थापा, यस्तो छ जिज्ञानको र जापानसँगको सम्बन्ध
प्रस्तावित राजदूतहरू
१. डा. निश्चलनाथ पाण्डे — भारत का लागि प्रस्तावित राजदूत
२. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत
३. चिरनजंग थापा -संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत
५. जिग्यान कुमार थापा - जापानका लागि प्रस्तावित राजदूत
६. सुरेशकुमार कर्ण - इजरायलका लागि प्रस्तावित राजदूत
७. प्राप्ति शेरचन - स्पेनका लागि प्रस्तावित राजदूत
८. शारू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत
९. डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत
१०. चूडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
१२. डा. मंचल झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत
१३. गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत ।