(Japan) 17 th September | 2026 | Thursday | 10:20:03 PM || (Nepal) 7:05:03 PM
 
 


एनआरएनए जापानद्धारा बाढी पहिरो प्रभावितलाई थप १० लाख येन सहयोग

  POSTED ON : Friday, 18 September, 2026 | Views : 168

एनआरएनए जापानद्धारा बाढी पहिरो प्रभावितलाई थप १० लाख येन सहयोग


टोकियो, जापान ।

नेपालमा तीन साता अघि आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले थप १० लाख येन सहयोग रकम पठाएको छ । यो रकम राहत संकलन अभियान अन्तर्गत पठाइएको तेस्रो किस्ता भएको अभियानका संयोजक टिकाराम खरेलले जानकारी दिनुभएको छ ।

एनआरएनए जापानका अनुसार उक्त रकम एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) मार्फत नेपाल सरकारलाई हस्तान्तरण गर्ने उद्देश्यले पठाइएको हो । तेस्रो किस्तासहित जापानमा सञ्चालन गरिएको राहत संकलन अभियानबाट हालसम्म ३० लाख रुपैयाँ बराबरको रकम नेपाल पठाइएको खरेलले जानकारी दिनुभएको छ ।

गत अगस्ट २६ मा भोटेकोशी क्षेत्र लगायत नेपाल–चीन सीमा आसपासमा आएको बाढी तथा पहिरोले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । विपद्पछि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुटाउने अभियान देश–विदेशमा सञ्चालन हुँदै आएको छ ।


एनआरएनए आईसीसीले पनि राहतका लागि सहयोग जुटाउँदै

यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढीपीडितका लागि ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको थियो । त्यसमध्ये करिब १ करोड रुपैयाँ बराबरको राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गरिएको र बाँकी रकम प्रधानमन्त्री कार्यालयको राहत कोषमा जम्मा गर्ने बताइएको थियो ।

सेप्टेम्बर १५ मा एनआरएनए आईसीसीले पहिलो चरणमा १ करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको समाचार पनि सार्वजनिक भएको थियो । संघका अनुसार उक्त रकम विभिन्न राष्ट्रिय समन्वय परिषद् तथा अभियन्ताहरूबाट संकलित सहयोगमध्ये पहिलो चरणमा हस्तान्तरण गरिएको हो ।


राहत अभियान जारी

एनआरएनए जापानले आफ्नो राहत संकलन अभियान अझै जारी रहेको जनाएको छ । एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले यसअघि सहयोग गर्ने प्रतिबद्धता जनाएका तथा अभियानमा जोडिन चाहने सबैलाई हाल सञ्चालनमा रहेको राहत संकलन खातामा रकम जम्मा गरी सहयोग गर्न अपिल गर्नुभएको छ ।

नेपालमा भएको विपद्पछि जापानस्थित नेपाली समुदायबाट व्यक्तिगत, सामाजिक संस्था तथा व्यवसायिक क्षेत्रमार्फत पनि निरन्तर सहयोग जुटिरहेको छ । एनआरएनए जापानको आधिकारिक वेबसाइटले पनि भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका लागि राहत संकलन अभियान सञ्चालन गरिरहेको जनाएको छ ।