टोकियो, जापान ।
जापानका लागि नेपालको नयाँ राजदूतको नामलाई लिएर नेपाली सञ्चारमाध्यमसँगै जापानमा रहेका नेपाली समुदायमा चासो र चर्चा सुरु भएको छ । चर्चामा आएको एकमात्र नाम हो-जिज्ञान कुमार थापा । हाल सार्वजनिक भएका विवरणहरु अनुसार थापाको नाम जापानका लागि नेपाली राजदूतका रूपमा प्रस्तावित नाममध्ये एउटा हो ।
यद्यपि, अन्तिम नियुक्ति तथा औपचारिक प्रक्रिया पूरा नभएसम्म उनलाई राजदूत नियुक्त भइसकेको व्यक्तिका रूपमा उल्लेख गर्नु उपयुक्त हुँदैन । तर सिफारिस गरिएका विभिन्न देशका राजदूतहरुमा विभिन्न नाम रहेको भएपनि जापानका लागि थापाको मात्र नाम रहेको समाचार विवरणहरुले उनको नियुक्ती सम्भावना बलियो देखिएको छ ।
जापानसँग थापाको सम्बन्ध भने करिव २ दशक लामो समयदेखिको छ । जापानसमाचारलाई जानकारी भएअनुसार उनी सन् २००० मा विश्वविद्यालय अध्ययनका लागि जापान आएका थिए । उनले योकोहामा नेसनल युनिभर्सिटी (Yokohama National University) बाट International Relations and Law मा स्नातकोत्तर गरेका गरेका छन् । सन् २०१३ को जापानको International Organization for Migration (IOM) सम्बन्धी कार्यशाला प्रतिवेदनमा उनलाई Kanagawa International Foundation का कर्मचारीका रूपमा उल्लेख गर्दै यही शैक्षिक पृष्ठभूमि र जापान आगमनको विवरण दिइएको छ ।
थापाको जापान बसाइ केवल अध्ययनमा मात्र सीमित रहेको देखिंदैन । उनी Kanagawa International Foundation मा कार्यरत रहेर बहुसांस्कृतिक सहकार्य, नेपाल सम्बन्धी जानकारी तथा जापानमा रहेका नेपाली समुदायसँग सम्बन्धित महत्वपूर्ण गतिविधिमा संलग्न हुँदै आएका छन् । जापानी शैक्षिक तथा अन्तर्राष्ट्रिय आदान–प्रदानसम्बन्धी कार्यक्रमहरूमा उनले नेपाल सम्बन्धी व्याख्या तथा प्रशिक्षणसमेत दिंदै आएका छन् ।
नेपाल र जापानबीचको सम्बन्धमा उनको दोभाषे तथा समन्वयकारी भूमिका पनि उल्लेखनीय रुपमा लिने गरिएको छ । जापानस्थित नेपाली राजदूतवास तथा नेपाल सरकारका तर्फबाट जापानमा आउने गरेका राष्ट्रपति देखि प्रधानमन्त्री एवं विशिष्ट अधिकारीहरुको जापान सरकारका निकायहरुको वार्ता तथा भेटघाटमा जापालाई उनको जापानी भाषाको दक्षतालाई लिएर दोभाषे (official interpreter) का रूपमा उनको विज्ञताको सदुपयोग वा भनौं करद गर्दै आएको पाइन्छ ।
त्यसैगरी, नेपाल पर्यटन बोर्डले आयोजना गरेको जापानमा नेपाल गन्तव्य प्रवर्द्धनसम्बन्धी कार्यक्रम होस् वा ओसाका एक्स्पो जस्ता विश्वस्तरिय कार्यक्रमहरु अधिकाशंमा थापाले कार्यक्रम सञ्चालन तथा दोभाषेको मूख्य भूमिका निर्वाह गरेको पाईन्छ ।
थापा जापानी सञ्चारमाध्यममा पनि लामो समयदेखि देखिँदै आएका छन् । थापाले Tokyo MX Television को समाचार कार्यक्रम Morning Sapuri मा कमेन्टेटरका रूपमा आबद्ध काम गरेका छन् । त्यस्तै, जापानका अन्य टेलिभिजन कार्यक्रमहरूमा नेपाल सम्बन्धी विषयमा सहभागी भएर जापानीमाझ नेपाल बारेको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा अवैतानिक दूतका रुपमा काम गर्दै आएका छन् ।
नेपाली समुदायसँगको उनको संलग्नता पनि पुरानो छ । गैर आवासिय नेपाली संघ जापानमा समेत कार्यसमितिमा रहेर काम गरिसकेका थापा जापानको सक्रिय सामाजिक संस्था खानागावा कम्यूनिटिका संस्थापक अध्यक्ष समेत हुन् ।
जापानमा लामो समयदेखि बसेर जापानी भाषा, स्थानीय समाज, सरकारी तथा गैरसरकारी संस्थाहरू र नेपाली समुदायसँग नजिक रहेका काम गरेको अनुभव थापाको सार्वजनिक परिचयको महत्वपूर्ण पक्षको रुपमा रहेको छ । जापानमा रहेका नेपाली समुदाय र जापानी समाजबीचको सम्पर्क तथा नेपालसम्बन्धी गतिविधिमा उनी विभिन्न अवसरमा सक्रिय रहेको कुरा आम जापानवासी नेपालीमा जानकारी छ ।
यसैबीच, हालै प्रकाशित समाचार अनुसार परराष्ट्र मन्त्रालयले विभिन्न देशका लागि राजदूत छनोट गर्न आवेदन तथा नाम छनोटको प्रक्रिया अघि बढाएको र जापानका लागि थापाको नाम अन्तिम चरणतर्फ रहेको दाबी गरिएको छ । तर सरकारको औपचारिक निर्णय, मन्त्रिपरिषद्को सिफारिस तथा आवश्यक कूटनीतिक प्रक्रिया पूरा नभएसम्म यसलाई अन्तिम नियुक्ति भने मानि हाल्न मिल्दैन ।
यदि थापाको नाम औपचारिक रूपमा अनुमोदन भएर जापानका लागि राजदूत नियुक्ति भएमा, जापानमा दुई दशकभन्दा बढी समय बिताएका, जापानी भाषा तथा समाजसँग प्रत्यक्ष रूपमा काम गरेका र नेपाल–जापान सम्बन्धका विभिन्न क्षेत्रमा संलग्न व्यक्ति नेपाली राजदूतका रूपमा आउनेछन् । नेपाल–जापान सम्बन्धको ७०औँ वर्ष मनाइरहेको सन्दर्भमा पनि जिज्ञानकुमार थापा जापानका लागि नेपाली राजदूतमा हुन लागेको सम्भावित नियुक्ति र नेपाल जापान सम्वन्ध थप उचाइमा पुग्ने आशा र सम्भावनालाई लिएर नेपाल जापान सम्वन्धमा जानकारी राख्नेहरुले चासोका साथ महत्व दिएको पाईन्छ ।