(Japan) 15 th September | 2026 | Tuesday | 11:13:36 PM || (Nepal) 7:58:36 PM
 
 


जापानमा १०० वर्षभन्दा माथिका नागरिकको सङ्ख्या १ लाख नाघ्यो, अधिकाशं महिला

  POSTED ON : Wednesday, 16 September, 2026 | Views : 158

जापानमा १०० वर्षभन्दा माथिका नागरिकको सङ्ख्या १ लाख नाघ्यो, अधिकाशं महिला


टोकियो, जापान ।

जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर भएका नागरिकको सङ्ख्या पहिलोपटक १ लाखको सीमा पार गरेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जापानमा शताब्दी पार गरेका नागरिकको सङ्ख्या १ लाख ७ हजार ६७७ पुगेको हो । यो अघिल्लो वर्षको तुलनामा ७ हजार ९१४ जनाले बढी हो ।

योसँगै जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेरका नागरिकको सङ्ख्या लगातार ५६औँ वर्ष वृद्धि भएको छ । सन् १९६३ मा यस्तो उमेर समूहका नागरिक जम्मा १५३ जना मात्र थिए । त्यसपछि स्वास्थ्य सेवा, पोषण, जीवनशैली र चिकित्सा प्रविधिमा भएको सुधारसँगै दीर्घायु नागरिकको सङ्ख्या तीव्र रूपमा बढ्दै आएको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार सन् १९८१ मा यो सङ्ख्या १ हजार नाघेको थियो भने सन् १९९८ मा १० हजार र सन् २०१२ मा ५० हजार नाघेको थियो ।


१०० वर्षभन्दा माथिका अधिकांश महिला

नयाँ तथ्याङ्कमा सबैभन्दा उल्लेखनीय पक्ष महिला र पुरुषबीचको ठूलो अन्तर हो । कुल १ लाख ७ हजार ६७७ जनामध्ये ९४ हजार २९८ जना महिला छन्, जुन कुल सङ्ख्याको ८७.६ प्रतिशत हो।

अर्थात् जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका प्रत्येक १० जनामध्ये झन्डै ९ जना महिला रहेका छन् । पुरुषको सङ्ख्या भने करिब १३ हजार ४ सय रहेको छ।


जापानकी सबैभन्दा जेठी नागरिक ११४ वर्षकी

स्वास्थ्य मन्त्रालयका अनुसार हाल जापानकी सबैभन्दा जेष्ठ नागरिक ११४ वर्षीया फुयो किशिमोतो हुन्। उनी क्योतोमा बस्छिन् । यसअघि देशकै सबैभन्दा वृद्ध नागरिक रहेकी ११५ वर्षीया शिगेको कागावा अगस्ट २७ मा निधन भएपछि किशिमोतो सबैभन्दा जेठी नागरिक बनेकी हुन् ।

पुरुषतर्फ सबैभन्दा जेठा नागरिक ११२ वर्षीय हिकारु कातो रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले चिकित्सा प्रविधि र स्वास्थ्य सेवामा भएको प्रगतिले मानिसलाई लामो समयसम्म बाँच्न मात्र नभई तुलनात्मक रूपमा सक्रिय जीवन बिताउन पनि सहयोग गरेको बताएका छन्।

जापानमा नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य बीमा प्रणाली, दीर्घकालीन हेरचाह सेवा, वृद्धवृद्धाका लागि स्थानीय स्वास्थ्य कार्यक्रम तथा चिकित्सा क्षेत्रमा भएको प्रगतिले मानिसको आयु बढाउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

सेप्टेम्बर १५ लाई जापानमा ‘वृद्ध दिवस’का रूपमा मनाइन्छ । यही अवसरको आसपास सरकारले हरेक वर्ष १०० वर्ष पुग्ने नागरिकलाई प्रधानमन्त्रीको तर्फबाट बधाईपत्र र स्मृति उपहार दिने परम्परा पनि राखेको छ ।


बढ्दो वृद्ध जनसङ्ख्या ठूलो चुनौती

दीर्घायु नागरिकको सङ्ख्या बढ्नु जापानका लागि स्वास्थ्य र जीवनस्तरको दृष्टिले सकारात्मक उपलब्धि भए पनि यसले देशको जनसांख्यिक संरचनामा ठूलो दबाब पनि सिर्जना गरिरहेको छ ।

जापानमा एकातर्फ जन्मदर घटिरहेको छ भने अर्कोतर्फ वृद्ध जनसङ्ख्या निरन्तर बढिरहेको छ । यसले पेन्सन, स्वास्थ्य बीमा, दीर्घकालीन हेरचाह, अस्पताल तथा सामाजिक कल्याण सेवामा सरकारी खर्च बढाउँदै लगेको छ ।

काम गर्ने उमेरका मानिसको सङ्ख्या घट्दै जाँदा वृद्ध नागरिकका लागि सामाजिक सुरक्षा खर्च धान्ने आधार समेत कमजोर हुँदै गएको छ । त्यसैले जापानका लागि आगामी वर्षहरूमा पेन्सन र स्वास्थ्य सेवा प्रणालीलाई दिगो बनाउने, वृद्धवृद्धाको हेरचाह व्यवस्थापन गर्ने र घट्दो श्रमशक्तिको समस्या समाधान गर्ने विषय प्रमुख चुनौती बनेका छन् ।


६ दशकमा ७०० गुणाभन्दा बढी वृद्धि


१९६३: १५३ जना

१९८१: १ हजारभन्दा बढी

१९९८: १० हजारभन्दा बढी

२०१२: ५० हजारभन्दा बढी

२०२५: ९९ हजार ७६३ जना

२०२६: १ लाख ७ हजार ६७७ जना


यसरी करिब ६३ वर्षको अवधिमा १०० वर्ष वा सोभन्दा बढी उमेरका नागरिकको सङ्ख्या १५३ बाट १ लाख ७ हजार ६७७ पुगेको छ।

जापानले विश्वकै दीर्घायु समाजमध्ये एकको रूपमा आफ्नो स्थान कायम राख्दै गर्दा, ‘लामो जीवन’सँगै ‘स्वस्थ, सक्रिय र सम्मानजनक वृद्ध जीवन’ सुनिश्चित गर्नु अब अर्को ठूलो चुनौती बनेको छ ।