टोकियो, जापान ।
नेपालमा दुई साता अघि आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिगं जिल्लाका नागरिकको राहत तथा पुनःस्थापनाका लागि जापानका दुई कम्पनीले कुल २ करोड येन (करिब २ करोड रुपैयाँ) सहयोग गरेका छन् ।
टोकियोस्थित CGC Japan Company Ltd. (CGC Group) का प्रमुख कार्यकारी अधिकृत आत्सुहिरो होरिउची सहितको प्रतिनिधिमण्डलले मंगलबार जापानस्थित नेपाली राजदूतावास पुगेर रसुवा बाढीमा ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गर्दै राहत तथा पुनःस्थापना सहयोगस्वरूप १ करोड येन प्रदान गरेको हो ।
त्यसैगरी Dassai Co., Ltd. ले पनि रसुवा बाढीपीडितका लागि १ करोड येन सहयोग गरेको नेपाली राजदूतावास टोकियोले जनाएको छ ।
दुवै कम्पनीबाट प्राप्त गरी कुल २ करोड येन बराबरको सहयोग नेपालमा बाढीबाट प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनामा उपयोग गरिने जनाइएको छ ।
यस कठिन परिस्थितिमा नेपाल र नेपाली जनताप्रति जापानी कम्पनीहरूले देखाएको ऐक्यबद्धता र सहयोगप्रति नेपाली राजदूतावासले नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।
रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा जापानस्थित विभिन्न संघसंस्था, कम्पनी तथा नेपाली समुदायबाट निरन्तर राहत सहयोग जुटिरहेको छ ।