टोकियो, जापान ।
जापानको फुकुओका सहरमा आफ्नै साथि र प्रमिका भनिएकाहरुको साङ्घातिक आक्रमणबाट हत्या गरिएकी २५ वर्षीया नेपाली छात्रा लक्ष्मी राजवंशीको शव नेपालमा आफ्नै गाउँमा अन्तिम संस्कार ९दाहसंस्कार० गरिएको छ।
जापानबाट आवश्यक कानुनी एवं प्रक्रियागत कार्य पूरा गरी शव हिजो नेपाल पठाइएपछि उनको जन्मस्थल झापा जिल्ला भद्रपुर नगरपालिका–७, देउनिया, विश्रान्ति घाटमा केहि समयअघि राजवंशी समुदायको धार्मिक संस्कार र विधिअनुसार दाहसंस्कार गरिएको हो ।
अन्तिम संस्कारमा मृतकका परिवार, आफन्त, छरछिमेक तथा ठूलो संख्यामा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । आफ्नै घरकी छोरीको असामयिक र बीभत्स हत्याको खबरले स्तब्ध बनेका गाउँले तथा आफन्तजनमा लक्ष्मीको शव आइपुगेपछि रुवावासी चलेको थियो ।
लक्ष्मीको टाउकोमा हत्या गर्दा प्रहार गरिएका चोटहरु स्पष्ट रुपमा घाउहरु देखिएको थियो । परिवारका सदस्य, आफन्त र गाउँलेहरुले शोकमा अश्रुधार बहाउँदै लक्ष्मीलाई अन्तिम बिदाइ गरेका थिए । सन् २०२३ को मे महिनामा अध्ययनका लागि जापान आइपुगेकी लक्ष्मी फुकुओकाको एक व्यावसायिक विद्यालयमा अध्ययनरत थिइन् ।
गत अगस्ट १९ का दिन फुकुओकाको तेन्जिन क्षेत्रस्थित नाका नदीमा उनको शव तैरिरहेको अवस्थामा फेला परेको थियो । जापानी प्रहरीको प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टअनुसार लक्ष्मीमाथि उनकै अपार्टमेन्टभित्र कडा वस्तुले प्रहार गरी तथा घाँटी थिचेर आक्रमण गरिएको र त्यसपछि तेस्रो तलाको बाल्कोनीबाट नदीमा खसालिएको खुलेको थियो ।
घटनाको गहन अनुसन्धानपछि फुकुओका प्रहरीले हत्याका मुख्य आशंकामा तीन जना नेपाली नागरिक (सञ्जु तामाङ, अस्मिता तामाङ र प्रवीन लामा) लाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। अन्त्येष्टिमा सहभागी आफन्त तथा स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी हत्यामा संलग्न दोषीहरूमाथि जापानी कानुनअनुसार कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।