(Japan) 13 th September | 2026 | Sunday | 1:00:47 PM || (Nepal) 9:45:47 AM
 
 


फ्रि मा जापान घुम्न पाउने लोभमा १५ करोडको गाँजा तस्करी, दुई अमेरिकी महिला पक्राउ

  POSTED ON : Sunday, 13 September, 2026 | Views : 166

फ्रि मा जापान घुम्न पाउने लोभमा १५ करोडको गाँजा तस्करी, दुई अमेरिकी महिला पक्राउ


टोकियो, जापान ।

जापानमा करिब १५ करोड येन (झण्डै ९ लाख ७० हजार अमेरिकी डलर) बराबरको गाँजा तस्करी गरेको आरोपमा दुई जना अमेरिकी महिला पक्राउ परेका छन् ।

जापानी प्रहरीले पक्राउ परेका दुवै महिला २५ वर्षका रहेको जनाएको छ । उनीहरू गत शनिबार अमेरिकाको न्यूयोर्कबाट टोकियोको हानेदा विमानस्थल आइपुगेका थिए ।

प्रहरीका अनुसार उनीहरूले ल्याएका दुईवटा सुटकेसभित्र लुकाएर सुकाइएको गाँजा जस्तो देखिने वनस्पति राखिएको थियो । बरामद गरिएको गाँजाको तौल करिब ३० किलोग्राम रहेको र यसको बजार मूल्य करिब १५ करोड येन रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अनुसन्धानका क्रममा एक महिलाले आफूले पैसा कमाउन र निःशुल्क जापान भ्रमण गर्न पाइने प्रलोभनका कारण उक्त काम स्वीकार गरेको बताएकी छन् । उनले प्रहरीलाई, “निःशुल्क जापान जान पाइने कुराले मलाई आकर्षित गर्‍यो,” भन्ने बयान दिएको जापानी सञ्चारमाध्यमले जनाएको छ।

यद्यपि अर्की महिलाले भने सुटकेसभित्र गाँजा रहेको आफूलाई थाहा नभएको दाबी गरेकी छन् ।

प्रहरीका अनुसार दुवै महिलाले नाम नखुलेका अन्य व्यक्तिसँग मिलेर योजनाबद्ध रूपमा गाँजा जापान ल्याएको आशंकामा अनुसन्धान भइरहेको छ । उनीहरूलाई लाभ कमाउने उद्देश्यले लागूऔषध तस्करी गरेको आरोपमा पक्राउ गरिएको हो ।

जापानमा लागूऔषध सम्बन्धी कानुन अत्यन्त कडा छ । नाफा कमाउने उद्देश्यले गाँजा तस्करी गरेमा अधिकतम १० वर्षसम्म कैद र ३० लाख येनसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।