फुकुओका, जापान ।
केहिदिन अघि मात्र एक नेपाली विद्यार्थीको हत्या आरोपमा तीन जना नेपाली युवा युवति पक्राउ परेको जापानको फुकुओका शहरबाट फरक घटनामा एक नेपाली युवति पक्राउ परेकी छिन् ।
प्रहरीका अनुसार फुकुओका प्रिफेक्चरमा भिसाको म्याद सकिएपछि पनि गैरकानूनी रूपमा बसोबास गरेको आरोपमा २३ वर्षीया एक नेपाली युवती पक्राउ परेकी हुन् । जापानी सञ्चारमाध्यम आरकेबी माइनिची प्रसारणका अनुसार घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्राप्त जानकारी अनुसार ती युवती सन् २०२४ को मे महिनामा विद्यार्थी भिसामा जापान प्रवेश गरेकी थिइन् । तर उनको जापानमा बस्न पाउने अवधि समाप्त भएपछि पनि उनले देश नछोडी बसोबास जारी राखेको आरोप छ ।
जापानी सञ्चारमाध्यमका अनुसार युवतीको जापानमा बसोबास गर्न पाउने अनुमति अवधि सन् २०२६ अगस्ट १३ मा समाप्त भएको बताइएको छ । भिसा वा ‘स्टाटस अफ रेसिडेन्स’को अवधि समाप्त भएपछि पनि जापानमै बसिरहनुलाई जापानी अध्यागमन कानुनअनुसार ‘फुहो ज्यानर्यु’ (不法残留) अवैधानिक बसोबास मानिन्छ ।
घटनाबारे प्रहरीले सेप्टेम्बर १० को साँझ प्राप्त सुराकीका आधारमा अनुसन्धान थालेको बताइएको छ । त्यसपछि सम्बन्धित स्थानमा पुगेर अनुसन्धान तथा आवश्यक जाँच गर्दा ती नेपाली युवतीले अनुमति प्राप्त अवधि नाघेर जापानमा बसोबास गरिरहेको पुष्टि भएको जनाइएको छ ।
पक्राउ परेकी युवतीले प्रहरीसमक्ष आफू जापानमा बसिरहनुको कारणबारे बयान दिएकी छन् । उनले स्वदेश नेपाल फर्कनका लागि आफूसँग पर्याप्त पैसा नभएकाले जापानमै बस्न बाध्य भएको बताएकी जनाइएको छ ।
यद्यपि आर्थिक समस्या वा स्वदेश फर्कने खर्चको अभावले जापानमा बसोबासको अनुमति अवधि सकिएपछि पनि बसिरहन कानुनी अनुमति प्रदान गर्दैन ।
जापानमा विदेशी नागरिकले आफ्नो ‘स्टाटस अफ रेसिडेन्स’ अन्तर्गत तोकिएको अवधिभित्र बसोबास गर्नुपर्छ । अवधि समाप्त हुनुअघि आवश्यक परेमा भिसा नवीकरण वा स्टाटस परिवर्तनका लागि जापानको अध्यागमन कार्यालयमा आवेदन दिनुपर्ने हुन्छ ।
अनुमति अवधि सकिएपछि पनि जापानमा बसोबास जारी राखेमा व्यक्ति अवैधानिक बसोबासको आरोपमा पक्राउ पर्न सक्ने, अध्यागमन हिरासतमा जान सक्ने तथा अनुसन्धानपछि देश निकाला ९डिपोर्टेशन० प्रक्रियामा पर्न सक्ने सम्भावना हुन्छ ।
हाल जापानमा विदेशी नागरिकको बसोबास तथा अध्यागमन सम्बन्धी नियमको पालना गर्ने विषयमा निगरानी भइरहेको अवस्थामा यो घटना सार्वजनिक भएको हो । विद्यार्थी, कामदार तथा अन्य विभिन्न आवासीय हैसियतमा जापानमा रहेका विदेशी नागरिकले आफ्नो रेसिडेन्स कार्डमा उल्लेखित बसोबास अवधि समयमै जाँच गर्नुपर्ने आवश्यकता रहेको छ ।
विशेषगरी विद्यार्थी तथा कामदारहरूले आफ्नो भिसा वा स्टाटसको अवधि समाप्त हुनुअघि विद्यालय, कम्पनी वा आवश्यक परे अध्यागमन विशेषज्ञसँग परामर्श गरेर कानुनी प्रक्रिया पूरा गर्नु आवश्यक हुन्छ ।