(Japan) 30 th August | 2026 | Sunday | 2:24:24 PM || (Nepal) 11:09:24 AM
 
 


जापानमा २९ वर्षीया नेपाली युवती मनिताको असामयिक निधन

  POSTED ON : Sunday, 30 August, 2026 | Views : 164

जापानमा २९ वर्षीया नेपाली युवती मनिताको असामयिक निधन


टोकियो, जापान ।

उच्च अध्ययन तथा रोजगारीको सिलसिलामा जापानमा रहँदै आएकी धरान–१६, जोर सखुवाकी २९ वर्षीया मनिता पारघरी लिम्बूको असामयिक निधन भएको छ।

धनकुटाको छथर जोरपाटी–३, साविक ताड्खुवा–६, करुन्जे निवासी शेरबहादुर लिम्बूकी नातिनी तथा मकल बहादुर लिम्बू र केसिका देवान लिम्बूकी छोरी मनिताको अल्पायुमै निधन भएको पारिवारिक तथा जापानमा उनि निकट व्यक्तिहरुले पुष्टि गरेका छन् ।

मनिता उच्च अध्ययनसँगै रोजगारीका लागि जापानमा रहँदै आएकी थिइन् । उनको निधनको कारणमा आफैंले आफ्नो ज्यान लिएको बताइन्छ । यसबारेको विस्तृत प्रहरी रिपोर्ट आउन बाँकी छ ।

उनको असामयिक निधनको खबरले नेपालमा रहेका परिवार, आफन्त तथा जापानमा रहेका नेपाली समुदायमा शोक छाएको छ । २९ वर्षको उमेरमै ज्यान गुमाउनुपर्दा परिवारजन गहिरो पीडामा परेका छन्।

यसै अगस्ट महिनामा फुकुओकामा २५ वर्षीया नेपाली युवती लक्ष्मी राजवंशी नाकागावा नदीमा मृत अवस्थामा फेला परेकी थिइन्। उनी सन् २०२३ मा विद्यार्थी भिसामा जापान पुगेकी थिइन् र अध्ययनसँगै रेस्टुरेन्टमा पार्टटाइम काम गर्दै आएकी थिइन्। जापानी प्रहरीले उनको मृत्युको घटनालाई हत्याको रुपमा गम्भीर रूपमा अनुसन्धान गरिरहेको छ ।

नेपालको परराष्ट्र मन्त्रालयको तथ्यांक उद्धृत गर्दै सार्वजनिक गरिएको एक रिपोर्टअनुसार, २०२५ जुलाईदेखि २०२६ जुन १ सम्मको करिब १० महिनामा जापानमा ६७ जना नेपालीको मृत्यु भएको थियो। तीमध्ये २५ जनाको मृत्यु आत्महत्याका रूपमा उल्लेख गरिएको छ। धेरैजसो मृतक विद्यार्थी भिसामा जापान आएर कामसमेत गरिरहेका नेपाली रहेको रिपोर्टमा उल्लेख छ। केही मृत्युको कारण खुलाइएको भए पनि धेरै घटनामा कारण ‘अज्ञात’ उल्लेख गरिएको थियो।

पछिल्ला वर्षहरूमा अध्ययन, रोजगारी र व्यवसायका लागि जापान आउने नेपालीको संख्या उल्लेख्य रूपमा बढेको छ। अध्यागमनसम्बन्धी तथ्यांकअनुसार सन् २०२५ मा नेपालबाट विदेश अध्ययनका लागि जानेमध्ये ४० हजार ८०० भन्दा बढी विद्यार्थी जापान आइपुगेका थिए। सन् २०२६ को अगस्ट पहिलो सातासम्म पनि ३१ हजारभन्दा बढी नेपाली विद्यार्थी जापान पुगेको तथ्यांक सार्वजनिक भएको छ।

नेपालीको संख्या बढ्दै जाँदा अध्ययनसँगै काम गर्ने विद्यार्थीको आर्थिक दबाब, लामो समय काम गर्नुपर्ने अवस्था, भाषागत कठिनाइ, एक्लोपन तथा सामाजिक–मानसिक दबाबजस्ता विषय पनि नेपाली समुदायमा महत्वपूर्ण चुनौतीका रूपमा देखिँदै आएका छन् ।