(Japan) 29 th August | 2026 | Saturday | 10:25:27 PM || (Nepal) 7:10:27 PM
 
 


जापानका करिब २० सुपरमार्केटमा नेपालका बाढीपीडितका लागि राहत संकलन अभियान

  POSTED ON : Sunday, 30 August, 2026 | Views : 128

जापानका करिब २० सुपरमार्केटमा नेपालका बाढीपीडितका लागि राहत संकलन अभियान


टोकियो, जापान ।

नेपालमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले जापानमा रहेका नेपालीहरूले व्यक्तिगत पहललाई निरन्तरता दिएका छन् । यसैक्रममा जापानका करिब २० वटा सुपरमार्केटमा नेपालका बाढीपीडितका लागि राहत रकम संकलन अभियान सञ्चालन हुने भएको छ ।

जापानमा कार्यरत तथा सामाजिक गतिविधिमा सक्रिय नेपाली युवा सरोज भुषालको पहलमा उक्त राहत संकलन अभियान अघि बढाइएको हो । भुषाल कार्यरत कम्पनी शिनानोया (Shinanoya) को स्वीकृतिपछि कम्पनीअन्तर्गत सञ्चालनमा रहेका करिब २० वटा सुपरमार्केटमा सहयोग रकम संकलनका लागि जापानी भाषामा ‘बोकिनबाको’ अर्थात् दान पेटिका राखिएको छ ।

नेपालमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको समाचार सार्वजनिक भएपछि आफूले प्रभावित परिवारका लागि केही सहयोग गर्न सकिने उपायबारे सोच्दै कम्पनीसमक्ष राहत संकलन अभियान सञ्चालनको प्रस्ताव गरेकोमा कम्पनिले स्विकृति दिएको भुषालले बताए ।

उनका अनुसार कम्पनीले नेपाली समुदायको उक्त मानवीय पहललाई सकारात्मक रूपमा लिँदै प्रस्ताव स्वीकृत गरेको हो । त्यसपछि सुपरमार्केटहरूमा सर्वसाधारण तथा ग्राहकहरूले स्वेच्छाले सहयोग रकम जम्मा गर्न सक्ने गरी दान पेटिका राखिएको छ ।


जापानी नागरिकबाट पनि सहयोग जुटाउने उद्देश्य

यो अभियान नेपाली समुदायभित्र मात्र सीमित नराखी जापानमा रहेका जापानी नागरिक तथा अन्य समुदायका व्यक्तिहरूलाई समेत नेपालका विपद्पीडितका बारेमा जानकारी गराउँदै सहयोगको अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो ।

सुपरमार्केटमा दैनिक रूपमा आउने ग्राहकहरूले आफ्नो इच्छाअनुसार सानो वा ठूलो रकम दान पेटिकामा राख्न सक्नेछन् । यसले नेपालमा आएको विपद्बारे जापानी समाजमा समेत जानकारी फैलाउन र मानवीय सहयोगको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

भुषालले व्यक्तिगत पहलबाट सुरु भएको अभियानलाई कम्पनीले संस्थागत रूपमा सहयोग गर्नु नेपाली समुदायका लागि सकारात्मक विषय भएको बताए ।


‘सानो सहयोगले पनि ठूलो अर्थ राख्छ’

नेपालमा विपद्का कारण घरबार गुमाएका, परिवारका सदस्य गुमाएका तथा दैनिक जीवनयापनमै कठिनाइ भोगिरहेका नागरिकलाई तत्काल राहत आवश्यक रहेको भन्दै भुषालले जापानमा रहेका नेपाली तथा जापानी नागरिकलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गरेका छन्।

उनका अनुसार दान पेटिकामा जम्मा हुने प्रत्येक रकम विपद्बाट प्रभावित नेपाली नागरिकको राहतमा उपयोग गर्ने उद्देश्य राखिएको छ । रकम संकलनपछि रकम नेपाल सरकारको खातामा रकम जम्मा गरिने उनले जानकारी दिए ।

नेपालबाट टाढा रहे पनि मातृभूमिमा परेको विपद्का बेला विदेशमा रहेका नेपालीहरूले आफ्नो तर्फबाट सहयोग जुटाउँदै आएका छन् । जापानमा रहेका नेपाली संघसंस्था, व्यवसायी तथा व्यक्तिगत रूपमा सक्रिय युवाहरूले विभिन्न माध्यमबाट राहत तथा आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेका छन् ।

यसै सन्दर्भमा सुपरमार्केट जस्तो जापानी समाजसँग प्रत्यक्ष सम्पर्क हुने स्थानमा दान पेटिका राखेर राहत संकलन गर्ने अभियानले नेपाल–जापानबीचको मानवीय सम्बन्धलाई समेत थप मजबुत बनाउने विश्वास गरिएको छ ।


नेपाली समुदायका लागि प्रेरणादायी पहल

विदेशमा रहेर पनि मातृभूमिमा परेको विपद्का बेला सहयोग जुटाउने भुषालको पहललाई जापानस्थित नेपाली समुदायमा सकारात्मक उदाहरणका रूपमा हेरिएको छ । व्यक्तिगत पहललाई रोजगारदाता कम्पनीले समेत स्वीकार गरी आफ्ना विभिन्न शाखामा अभियान सञ्चालन गर्न सहयोग गर्नु आफैंमा महत्वपूर्ण उपलब्धि भएको सहभागीहरूको भनाइ छ ।

नेपालमा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको संख्या बढ्दै जाँदा तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता पनि देखिएको छ । यस्तो अवस्थामा विदेशमा रहेका नेपाली तथा शुभेच्छुकबाट संकलन हुने सहयोगले पीडित परिवारलाई राहत उपलब्ध गराउन केही हदसम्म योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

जापानमा रहेका नेपालीहरूले यस अभियानलाई सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको सहयोगको अवसरका रूपमा लिँदै आफूलाई सम्भव भएसम्म सहभागी गराउन सक्नेछन्।

नेपालमा विपद् पर्दा जापानबाट उठेको सानो–सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो आशा र भरोसा बन्न सक्छ ।