(Japan) 29 th August | 2026 | Saturday | 1:15:52 PM || (Nepal) 10:00:52 AM
 
 


रसुवा, नुवाकोट बाढीपीडितका लागि दोलखा समाज जापानद्वारा ५ लाख रुपैयाँ सहयोग

  POSTED ON : Saturday, 29 August, 2026 | Views : 152

रसुवा, नुवाकोट बाढीपीडितका लागि दोलखा समाज जापानद्वारा ५ लाख रुपैयाँ सहयोग


टोकियो, जापान ।

रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि दोलखा समाज जापानले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

दोलखा समाज जापानको कार्यसमिति बैठकले बाढीपीडितहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाको अक्षयकोषबाट नेपाली रुपैयाँ ५ लाख सहयोग गर्ने निर्णय गरेको अध्यक्ष संजिव पोखरेलले जानकारी दिनुभयो । सोही निर्णयअनुसार सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकिएको समाजले जनाएको छ ।

समाजले प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा विपद्बाट प्रभावित परिवारहरूको शीघ्र पुनःस्थापनाको कामना गरेको छ।

यसैबीच, विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै सेप्टेम्बर ६ तारिख, आइतबार आयोजना हुने भनिएको तीज विशेष कार्यक्रम स्थगित गरिएको दोलखा समाज जापानले जनाएको छ।

समाजका अध्यक्ष पोखरेलद्वारा जारी सूचनामा विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको जानकारी दिइएको छ ।

दोलखा समाज जापानले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग र ऐक्यबद्धता आवश्यक रहेको जनाएको छ ।