टोकियो, जापान ।
जापानको राजधानी टोकियो आगामी जुलाई २५ मा विश्वभरका नेपाली पत्रकारको साझा थलो बन्ने भएको छ। नेपाल पत्रकार महासंघ (एफएनजे) जापान शाखाको आयोजनामा हुने ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ मा चारैतिरबाट सञ्चारकर्मीहरूको सहभागिता रहने भएको हो।
यस सम्मेलनको सहआयोजकमा महासंघका १२ वटा वैदेशिक शाखाहरू रहेका छन्।
‘प्रवासी सञ्चार माध्यममार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नारासहित आयोजना हुन लागेको सो सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, केन्द्रीय कार्यसमितिका ३३ पदाधिकारी तथा सदस्यहरू, ११ वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधिहरू, जापानका स्थानीय पत्रकार तथा विभिन्न मुलुकमा क्रियाशील नेपाली सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहने आयोजकले जनाएको छ।
प्रवासी पत्रकारिता : नेपाल र विश्वको पुल
विश्वव्यापीकरणको गतिसँगै नेपाली समुदायको उपस्थिति पृथ्वीका कुनाकुनामा पुगिसकेको छ। उच्च शिक्षा, रोजगारी, व्यवसाय वा अन्य सिलसिलामा विदेश पुगेका नेपालीहरूका गतिविधि, समस्या, सफलता र चासोलाई मातृभूमिसम्म पुर्याउने जिम्मेवारी अहिले प्रवासी पत्रकारिताको काँधमा आएको छ। यसै सन्दर्भलाई आत्मसात गर्दै सम्मेलन आयोजना गरिएको नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले बताए।
सम्मेलनको रूपरेखाबारे जापान शाखाकी उपाध्यक्ष मनिषा चम्लागाईँ भन्छिन्— “प्रवासी सञ्चार माध्यमले नेपाल जोड्न खेलेको भूमिका, प्रवासी पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावना, केन्द्रीय समिति र वैदेशिक शाखाबीचको सम्बन्ध, प्रवासी समुदाय र मिडियाबीचको अन्तरसम्बन्ध, जिम्मेवार पत्रकारितामा प्रविधिको प्रभाव तथा प्रेस स्वतन्त्रताजस्ता विषयमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल र अन्तरक्रिया कार्यक्रम रहनेछन्।”
औपचारिकता र सन्देश दुवैको खोजी
नेपाल पत्रकार महासंघ केन्द्र र वैदेशिक शाखाबीचको सम्बन्धलाई औपचारिकता प्रदान गर्न यस सम्मेलनले कोसेढुङ्गाको काम गर्ने अपेक्षा गरिएको छ। जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल भन्छन्— “विदेशको असहज परिस्थितिमा पनि प्रवासी पत्रकारहरू देशप्रति उत्तिकै जिम्मेवार र गम्भीर भएर पत्रकारिता गरिरहेका छन्, यो सन्देश सम्मेलनले विश्वभर पुर्याउनेछ।”
नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारी प्रविधिको कोणबाट विषयलाई हेर्छन्— “प्रविधिको कारण अब नेपालभित्र वा बाहिर गरिने पत्रकारितामा प्रभाव र पहुँचको हिसाबले खासै फरक छैन। बरु पत्रकारिता विश्वव्यापी शैलीको भइसकेको छ। डायस्पोरामा सक्रिय पत्रकार र उनीहरूमार्फत हुने पत्रकारिता डायस्पोराका नेपाली समुदायका लागि अर्थपूर्ण छ भने नेपालकै हकमा पनि अपरिहार्य बन्दै गएको छ। डायस्पोरा पत्रकारिताको बहुआयामिक महत्त्वमा छलफल आवश्यक छ र यस्तो बेला हुन लागेको ग्लोबल मिडिया सम्मेलनले महत्त्वपूर्ण उपादेयता प्रदान गर्नेछ।”
एकै मञ्चमा विश्वका नेपाली पत्रकार
नेपाल पत्रकार महासंघ जापान शाखाले विश्वभरका नेपाली पत्रकारलाई एकै साझा मञ्चमा जोड्ने यस सम्मेलनलाई प्रवासी पत्रकारिताको इतिहासमै महत्वपूर्ण उपलब्धिको रूपमा लिएको छ। आयोजकका अनुसार, यस सम्मेलनले नेपाल र विश्वभरका नेपाली सञ्चारकर्मीबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै प्रवासी पत्रकारिताको संस्थागत विकास, अन्तर्राष्ट्रिय सहकार्य र व्यावसायिक क्षमता अभिवृद्धिमा दीर्घकालीन टेवा पुर्याउने विश्वास लिइएको छ।
जापानका नेपाली निजी व्यावसायिक क्षेत्रको उल्लेखनीय साथ
सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रले पनि उल्लेख्य सहयोग गरेको छ। जापानको अग्रणी फिनटेक कम्पनी डिजिटल वालेट कर्पोरेशनअन्तर्गत सञ्चालित स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट सम्मेलनका मुख्य कार्यक्रम साझेदार (मेन इभेन्ट पार्टनर) बनेका छन्।
आयोजकले प्रमुख कार्यक्रम साझेदार स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट, इभेन्ट पार्टनर फ्रन्टअप ई–सिम, तथा अन्य प्रायोजक, सहयोगी संस्था र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै सार्वजनिक–निजी सहकार्यले प्रवासी पत्रकारितालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।