ओसाका, जापान ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्षेत्रीय समन्वय परिषद् कान्साईले हालै जापानमा असामयिक निधन भएका तीन नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
एनआरएनए कान्साईले जारी गरेको श्रद्धाञ्जली सन्देशअनुसार, बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१९ स्थायी घर भई जापानमा विद्यार्थी भिसामा अध्ययनरत स्वर्गीय सचिता चौधरी, बझाङ जिल्ला स्थायी घर भई ओसाकामा विद्यार्थी जीवन बिताइरहेका २४ वर्षीय स्वर्गीय दीपक बहादुर धामी, तथा पोखरा महानगरपालिका–२६ स्थायी घर भई ओसाकामा बसोबास गर्दै आएकी स्वर्गीय सरिता गौतमको असामयिक निधनप्रति संस्थाले गहिरो समवेदना प्रकट गरेको हो ।
संस्थाले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा यो असह्य पीडा सहने शक्ति, धैर्य र साहस प्राप्त होस् भन्ने कामना गरेको छ ।
एनआरएनए कान्साईका अनुसार, थारु कल्याणकारिणी सभा जापान, कान्साई समितिको सहकार्यमा स्वर्गीय सचिता चौधरीको पार्थिव शरीर नेपाल पठाएको छ ।
त्यसैगरी, स्वर्गीय दीपक बहादुर धामीको पार्थिव शरीरको दाहसंस्कार २०२६ जुन २४ तारिख ओसाकामा गरिएको थियो । दाहसंस्कारपछि उहाँको अस्थु नेपाल पठाइएको एनआरएनएले जनाएको छ ।
यस दुःखद घडीमा पीडित परिवारलाई सहयोग पुर्याउन सञ्चालन गरिएको आर्थिक, भौतिक तथा नैतिक सहयोग अभियान सफल बनाउन हातेमालो गर्ने विभिन्न संघ–संस्था, नेपाली राजदूतावास टोकियो, अग्रज व्यक्तित्वहरू, सहयोगी दाताहरू, समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति एनआरएनए जापान, क्षेत्रीय समन्वय परिषद् कान्साईले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।
एनआरएनए कान्साईले विदेशमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र मानवीय सेवाको भावनालाई निरन्तर मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।