(Japan) 1 st July | 2026 | Wednesday | 7:54:42 PM || (Nepal) 4:39:42 PM
 
 

आजदेखि जापान छाडेको पनि ३,००० येन लाग्ने, जापानीलाई पासपोर्ट लिन भने पैसा घट्यो

  POSTED ON : Wednesday, 01 July, 2026 | Views : 292

आजदेखि जापान छाडेको पनि ३,००० येन लाग्ने, जापानीलाई पासपोर्ट लिन भने पैसा घट्यो


टोकियो, जापान ।

जापान सरकारले आज (जुलाई १) देखि जापानबाट विदेश जाने सबै यात्रुका लागि लाग्ने अन्तर्राष्ट्रिय पर्यटन प्रस्थान कर (International Tourist Tax) १,००० येनबाट बढाएर ३,००० येन पुर्‍याएको छ । 

नयाँ व्यवस्था आजदेखि खरिद गरिने हवाई, क्रुज तथा अन्य अन्तर्राष्ट्रिय यात्राका टिकटहरूमा लागू भएको छ ।

यो कर जापानी नागरिक र विदेशी नागरिक दुवैलाई समान रूपमा लाग्नेछ । अर्थात्, जापानबाट विदेश प्रस्थान गर्ने जो–कोहीले टिकट खरिद गर्दा अब अतिरिक्त ३,००० येन तिर्नुपर्नेछ । जुन तपाईंले छुट्टै तिर्नु नपरेपनि टिकट खरिद गर्दा जोडिने भएकाले टिकटको मूल्य बढि पर्नेछ ।


किन बढाइयो प्रस्थान कर ?

सरकारका अनुसार पछिल्ला वर्षहरूमा जापान आउने विदेशी पर्यटकको संख्या तीव्र रूपमा बढेको छ । यसले लोकप्रिय पर्यटकीय क्षेत्रहरूमा अत्यधिक भीड, सार्वजनिक यातायातमा चाप, फोहोर व्यवस्थापन, वातावरणीय असर तथा स्थानीय बासिन्दालाई विभिन्न असुविधा सिर्जना गरेको छ ।


यही समस्याको समाधानका लागि कर वृद्धि गरेर प्राप्त हुने अतिरिक्त रकम निम्न क्षेत्रमा खर्च गरिने सरकारको योजना छः

पर्यटकीय क्षेत्रको पूर्वाधार सुधार

अत्यधिक भीड व्यवस्थापन

विमानस्थल तथा बन्दरगाह सेवाको स्तरोन्नति

पर्यटनसम्बन्धी डिजिटल सेवा विस्तार

स्थानीय समुदायमा पर्यटनको प्रभाव कम गर्ने कार्यक्रम


यसअघि १,००० येनको प्रस्थान करबाट सरकारले वार्षिक करिब ५० अर्ब येन राजस्व संकलन गर्दै आएको थियो ।

अब कर ३,००० येन पुगेपछि वार्षिक रूपमा थप १२० अर्ब येन राजस्व संकलन हुने अनुमान गरिएको छ । यससँगै सरकारले पर्यटन व्यवस्थापनका लागि अझ ठूलो बजेट परिचालन गर्न सक्ने विश्वास लिएको छ ।


जापानी पासपोर्ट शुल्क भने घटाइयो

यता विदेश यात्रा गर्ने जापानी नागरिकलाई राहत दिने उद्देश्यले सरकारले पासपोर्ट आवेदन शुल्क भने घटाएको छ ।


१० वर्षे जापानी पासपोर्ट बनाउन लाग्ने शुल्क ७,००० येनले घटाइएको छ। सरकारले विदेश भ्रमण गर्ने आफ्ना नागरिकको आर्थिक भार कम गर्न यस्तो निर्णय गरेको जनाएको छ।


जापानमा रहेका नेपालीलाई पनि प्रभाव

जापानमा बसोबास गर्ने नेपाली विद्यार्थी, कामदार, व्यवसायी तथा अन्य विदेशी नागरिकहरू पनि नेपाल वा अन्य देश यात्रा गर्दा अब जुलाई १ पछि खरिद गरिने अन्तर्राष्ट्रिय टिकटमा ३,००० येन प्रस्थान कर तिर्नुपर्नेछ ।

यदि टिकट जुलाई १ अघि खरिद गरिएको छ भने, त्यसमा लागू हुने कर टिकट खरिद भएको मितिअनुसार निर्धारण हुनेछ ।