(Japan) 29 th June | 2026 | Monday | 3:21:37 PM || (Nepal) 12:06:37 PM
 
 

रेल दुर्घटनापछि क्योतो-कामितोबागुची खण्डमा रेल अवरुद्ध, कुदिरहेको रेल लिगबाट बाहिर उछिट्यिो-ठूलो मानविय क्षति टर्यो

  POSTED ON : Monday, 29 June, 2026 | Views : 204

रेल दुर्घटनापछि क्योतो-कामितोबागुची खण्डमा रेल अवरुद्ध, कुदिरहेको रेल लिगबाट बाहिर उछिट्यिो-ठूलो मानविय क्षति टर्यो


क्योतो, जापान ।

जापानको क्योतो स्थित किन्तेत्सु क्योतो लाइनमा सोमबार बिहान दिनको पहिलो स्थानीय रेल क्योतो स्टेशनबाट छुट्नेबित्तिकै रेलको लिगबाट बाहिरिएको थियो । दुर्घटनामा रेलमा सवार यात्रु तथा चालक दलका कुनै पनि सदस्य घाइते भएका छैनन् ।

किन्तेत्सु रेलवेका अनुसार दुर्घटना बिहान करिब ५:१०–५:१३ बजे बिचमा भएको हो । चार डिब्बा रहेको स्थानीय रेल नारा प्रिफेक्चरको काशिहाराजिङ्गु–माए स्टेशनतर्फ जाँदै थियो । रेल क्योतो स्टेशनबाट छुटेको केही क्षणमै, स्टेशनबाट करिब १०० मिटर पश्चिम रहेको घुम्ती नजिक दोस्रो र तेस्रो डिब्बा लिगबाट बाहिरिएका थिए ।

दुर्घटना भएको रेलमा करिब १० देखि ३० जना यात्रु सवार रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । सबै यात्रुलाई सुरक्षित रूपमा रेलबाट बाहिर निकालेर पैदलै क्योतो स्टेशनसम्म पुर्‍याइएको थियो ।

घटनापछि किन्तेत्सु क्योतो लाइनको क्योतो र कामितोबागुची स्टेशनबीच दुवै ट्र्याकमा रेल सेवा स्थगित गरिएको छ । यसका कारण अन्य खण्डहरूमा समेत रेल सेवा ढिलो हुनुका साथै केही रेलहरू रद्द गरिएका छन् । सेवा कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भन्ने विषयमा अझै जानकारी दिइएको छैन।

किन्तेत्सु रेलवेले दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक रूपमा रेल कसरी पटरीबाट बाहिरियो भन्ने कारण खुल्न बाँकी रहेको अधिकारीहरूले बताएका छन् ।

यो घटना जापानको अत्यन्तै सुरक्षित मानिने रेल प्रणालीमा भएको दुर्लभ दुर्घटनामध्ये एक मानिएको छ । रेलमा रहेका सबै यात्रु सकुशल रहेकाले ठूलो मानवीय क्षति भने टरेको छ ।