टोकियो, जापान ।
जापानले आफ्नो सबैभन्दा पूर्वी टापु मिनामितोरिशिमा मा पहिलोपटक सर्फेस-टु-शिप (जमिनबाट जहाजमा मारहान्ने) मिसाइल प्रक्षेपक तैनाथ गरेको छ । जापानी भू-आत्मरक्षा बलले आइतबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको हो ।
जीएसडीएफका अनुसार जुन महिनाभरि उक्त टापुमा टाइप–१२ जहाजविरोधी मिसाइल प्रक्षेपक तथा लक्ष्य पहिचान गर्न प्रयोग हुने टोही ड्रोन तैनाथ गरिएको छ । यद्यपि, यसपटक मिसाइलका वास्तविक प्रक्षेप्य भने टापुमा लगिएको छैन ।
टाइप–१२ मिसाइलको मारक दूरी १०० किलोमिटरभन्दा बढी रहेको छ । जीएसडीएफले टापुमा तैनाथ गरिएका उपकरणहरूको परीक्षण सम्पन्न भएको र ती सबै सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ ।
मिनामितोरिशिमा टोकियो प्रशासन अन्तर्गत पर्ने ओगासावारा द्वीपसमूह को हिस्सा हो । यो टापु जापानको मुख्य द्वीप होन्शु बाट करिब २,००० किलोमिटर दक्षिण–पूर्वमा अवस्थित छ।
जीएसडीएफले अप्रिल २०२७ बाट सुरु हुने आगामी आर्थिक वर्षदेखि यस टापुबाट मिसाइल प्रहार अभ्यास सुरु गर्ने योजना बनाएको पनि जनाएको छ।
यसअघि, जुन ८ मा रक्षा मन्त्रालयले सम्झौता गरेको निजी फेरी जहाजले चिबा बन्दरगाहबाट उक्त मिसाइल प्रक्षेपक तथा अन्य उपकरण मिनामितोरिशिमा पुर्याएको देखिएको थियो ।
सुरक्षा विश्लेषकहरूका अनुसार यो तैनाथी जापानले प्रशान्त महासागरतर्फको आफ्नो रक्षा क्षमता थप मजबुत बनाउने रणनीतिक योजनाको हिस्सा हो । क्षेत्रीय सुरक्षा चुनौती बढिरहेका बेला जापानले टाढाका रणनीतिक टापुहरूमा रक्षा संरचना विस्तार गर्ने नीति अघि बढाइरहेको छ ।