टोकियो, जापान ।
जापानमा रहेका नेपाली समुदायबीच आपसी एकता, सांस्कृतिक संरक्षण तथा सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित बागलुङ समाज जापान ले आयोजना गर्न लागेको दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
समाजका पदाधिकारीहरूका अनुसार मेला आगामी २०२६ मार्च २१ र २२ तारिख टोकियोको मिता लाइनस्थित ओनारिमोन स्टेशन नजिक रहेको शिबा पार्कमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। दुई दिनसम्म चल्ने उक्त मेलामा धार्मिक, सांस्कृतिक तथा खेलकुद गतिविधिहरूको विशेष आकर्षण रहनेछ।
विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रम
समाजका अध्यक्ष गुरु प्रसाद सापकोटाका अनुसार मेलामा भलिबल प्रतियोगिता, लाइभ लोकदोहोरी, लठ्ठो तान्ने प्रतियोगिता, झाँकी प्रदर्शनी, ऐतिहासिक तथा धार्मिक झल्को दिने विशेष प्रस्तुति, राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति लगायत विविध सांस्कृतिक कार्यक्रम समावेश गरिनेछ । साथै नेपाली खानाका परिकारहरूको स्वाद लिन पाइने व्यवस्था तथा बागलुङ जिल्लामा उत्पादित मौलिक सामग्रीहरूको प्रदर्शनी तथा बिक्रीको समेत व्यवस्था गरिनेछ ।
चौथो रनिङ कप पुरुष भलिबल प्रतियोगिता
मेला अन्तर्गत आयोजना हुने चौथो रनिङ कप पुरुष भलिबल प्रतियोगिता भने २०२६ मार्च ४ तारिख साईतामास्थित टोदा स्पोर्ट्स सेन्टरमा सञ्चालन गरिने खेलकुद संयोजक बसन्त थापाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख येन, द्वितीय २ लाख येन र तृतीय १ लाख येन तोकिएको छ । पुरुषतर्फ टिम दर्ता शुल्क ४० हजार येन निर्धारण गरिएको छ ।
यसैगरी, विशेष आकर्षणका रूपमा महिला भलिबल प्रतियोगिता पनि आयोजना गरिनेछ, जसमा प्रथम पुरस्कार ५० हजार येन र द्वितीय पुरस्कार ३० हजार येन राखिएको छ । महिला तर्फ टिम दर्ता शुल्क निःशुल्क रहने जनाइएको छ ।
स्टल बुकिङ खुला
मेलाका अवसरमा स्टल बुकिङ खुला गरिएको छ । मेलामा सहभागी भई नेपाली परिकार, हस्तकला, मौलिक उत्पादन तथा व्यापारिक वा प्रचारात्मक सामग्री प्रदर्शन तथा बिक्री गर्न इच्छुक व्यवसायी तथा संघ–संस्थालाई सम्पर्क गर्न स्टल व्यवस्थापन संयोजक एवं समाजका उपाध्यक्ष राजु केसीले आग्रह गर्नुभएको छ ।
सामाजिक उत्तरदायित्वको लक्ष्य
कार्यक्रमबाट संकलित कुल रकममध्ये निश्चित प्रतिशत बागलुङ जिल्लाभित्र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आवश्यकताका आधारमा सहयोग गर्ने मानवीय लक्ष्य समाजले लिएको जनाएको छ । आर्थिक संयोजक तथा कोषाध्यक्षले उक्त अभियानलाई चरणबद्ध रूपमा अघि बढाउँदै नेपाली समुदायसँग सहकार्य गर्दै अघि बढ्ने योजना रहेको जानकारी दिँदै सबै संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई आर्थिक तथा नैतिक सहयोगका लागि हार्दिक अनुरोध गर्नुभएको छ ।
महासचिव सचिन आचार्यले धार्मिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमार्फत जापानस्थित नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउन कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै जापानवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गर्नुभएको छ ।
...
जापानमा पहिलो पटक चैत्राष्टमी मेला आयोजना गरिंदै