(Japan) 26 th March | 2026 | Thursday | 4:45:43 AM || (Nepal) 1:30:43 AM
 
 


जापानमा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउन एएनओ स्थापना हुँदै

  POSTED ON : Thursday, 26 February, 2026 | Views : 1500

जापानमा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउन एएनओ स्थापना हुँदै


टोकियो, जापान ।

विश्वभर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यसहित स्थापना गरिएको एसोसिएसन अफ नेपाली ओरिजिन एएनओ ले जापानमा आफ्नो शाखा विस्तार सहित कार्यक्रम आयोजना गर्ने भएको छ ।

'हाम्रो शक्ति नेपाली सम्पदाको एकतामा निहित छ' भन्ने मूल नाराका साथ जापान कन्वेन्सन आयोजना गर्ने भएको हो ।

'जापान सम्मेलन-२०२६' नाम दिइएको उक्त विशेष कार्यक्रम आगामी मार्च १, २०२६ मा टोकियोमा हुने तय भएको छ । कार्यक्रम बिहान १० : ३० बजेदेखि सुरु हुने कार्यक्रम आयोजनाको समन्वय गरिरहनुभएका रविन शर्माले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीता जनाउनको लागि संस्थाका महासचिव चुडामणी (सिएम) भट्टराई अमेरिकाबाट जापान आइपुग्नुभएको शर्माले जानकारी दिनुभयो ।

आयोजकका अनुसार कार्यक्रम टोकियोको ओकुबोमा रहेको नेवा डाइनिगंमा सम्पन्न हुनेछ ।

सन् २०२४ मा स्थापना भएको एएनओले जापानमा बसोबास गर्दै आएका नेपाली मूलका नागरिकहरूबीच आपसी सहकार्य, सांस्कृतिक संरक्षण र सामाजिक एकता सुदृढ गर्ने लक्ष्य लिएको जनाएको छ । जापान र नेपाल दुवै देशको सांस्कृतिक पहिचान झल्काउने प्रतीकात्मक प्रस्तुति सहित सार्वजनिक गरिएको पोस्टरमा नेपाली मौलिकता र जापानी परिवेशलाई समेटिएको छ ।

आयोजक समितिका अनुसार कन्वेन्सनमा नेपाली समुदायका अगुवा, व्यवसायी, विद्यार्थी तथा विभिन्न पेशामा आबद्ध प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रममा संगठनको भावी कार्ययोजना, सदस्यता विस्तार, सामुदायिक सहकार्य तथा सांस्कृतिक प्रवर्द्धन सम्बन्धी छलफल हुने जनाइएको छ ।

जापानमा बढ्दो नेपाली उपस्थिति र समुदायको आवश्यकता अनुरूप साझा प्लेटफर्म निर्माण गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कन्वेन्सनलाई नेपाली समुदायका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । आयोजकले सबै नेपाली मूलका व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई एकताको सन्देश सशक्त बनाउन आग्रह गरेको छ।


के हो एएनओ ?

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली मूलका नागरिकलाई मातृभूमि नेपालसँग भावनात्मक, सांस्कृतिक तथा आर्थिक रूपमा जोड्ने उद्देश्यसहित ‘एनओ’ (Association of Nepali Origin – ANO)  अभियान स्थापना भएको हो । यस संस्थाले प्रवासमा रहेका नेपालीलाई एकआपसमा जोड्दै नेपालसँग सम्बन्ध सुदृढ गर्ने लक्ष्य राखेको छ । 

संस्थाले आफ्नो अवधारणामा  ‘नेपाली मूल’ भन्नाले नेपाललाई मातृभूमि वा पितृभूमि मानेर विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका, नेपाली भाषा र संस्कृतिसँग सम्बन्ध राख्ने व्यक्तिहरूलाई उल्लेख गर्दै प्रवासमा रहेका नेपाली सन्ततिका ज्ञान, सीप, अनुभव र लगानीलाई नेपालको विकासमा उपयोग गर्ने, भाषा–संस्कृतिको संरक्षण गर्ने तथा प्राकृतिक वा मानवीय विपत्तिका बेला सहयोग गर्ने उद्देश्य लिएको छ ।