भर्जिनिया, अमेरिका ।
अमेरिकाको भर्जिनिया राज्यको फेयरफाक्स कन्ट्रिमा सोमबार बिहान भएको एक दर्दनाक घटनाले नेपाली समुदायलाई स्तब्ध बनाएको छ । नेपालका ५० वर्षीय छत्र बहादुर थापाले आफ्नै घरभित्र श्रीमती र छोरीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् भने प्रहरीको गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको छ।
घटनाको विवरण यस्तो छ
प्रहरीका अनुसार बिहान करिब ५ः१५ बजे घरेलु हिंसाको सूचना पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । घरभित्र पुगेपछि प्रहरीले अत्यन्तै भयावह दृश्य देखेको बताइएको छ ।फेयरफ्याक्स काउन्टी प्रहरी प्रमुख केभिन डेभिसले घटनालाई कल्पनाभन्दा परको र अत्यन्तै क्रूर भएको बताएका छन्।
घटनाका क्रममा ३५ वर्षीय सन्तोष कुमार बस्नेतले ९११ मा फोन गरेका थिए । गाडीबाट हिउँ हटाइरहेका बेला आवाज सुनेपछि घरभित्र प्रवेश गर्दा उनले आफ्नी श्रीमती ममता थापा र सासु बिन्दा थापालाई रगतमा लतपत अवस्थामा फेला पारेका थिए ।
थापाले बस्नेतमाथि पनि आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन् ।
प्रहरीले बारम्बार हतियार छोड्न आदेश दिए पनि नमानेपछि गोली चलाएको जनाएको छ । घरमा रहेको एक वर्षको शिशु भने सकुशल रहेका छन् ।
परिवारसँग सम्बन्धित कुनै अघिल्लो आपराधिक रेकर्ड वा प्रहरी उजुरी नभएको बताइएको छ । घटनाको वास्तविक कारण र पृष्ठभूमिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
यो घटना २०२५ जुन ५ मा अनस्सासमा भएको नेपाली परिवारको सामूहिक मृत्यु प्रकरणपछि आएको अर्को ठूलो झट्का हो, जहाँ एक परिवारका चार सदस्य मृत फेला परेका थिए ।
त्यसैगरी, मनासस पार्ककै नर्स ममता काफ्ले भट्ट अमेरिकी सेनामा कार्यरत आफ्नै श्रीमानबाट हत्या र बेपत्ता प्रकरण अझै चर्चामा छ । उनका श्रीमान् नरेश भट्टलाई हत्या र शव लुकाएको आरोपमा अभियोग लगाइएको छ ।
विदेशमा बसोबास गर्ने धेरै नेपालीहरू आर्थिक दबाब, सांस्कृतिक एक्लोपन, पारिवारिक जिम्मेवारी र आप्रवासन सम्बन्धी अनिश्चितताबाट तनावमा रहने विज्ञहरू बताउँछन् । समयमै मानसिक स्वास्थ्य सहयोग नपाउँदा समस्या गम्भीर बन्न सक्छ ।
नेपाली समुदायमा पारिवारिक समस्या बाहिर नल्याउने संस्कारका कारण घरेलु हिंसा प्रायः रिपोर्ट हुँदैन। समस्या बढ्दै जाँदा चरम रूप लिन सक्ने जोखिम रहन्छ।
अमेरिका लगायत देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुमा भिसा, रोजगारी, आर्थिक ऋण र परिवारको अपेक्षाले मानसिक दबाब थप बढ्दै गएको ठानिन्छ ।
विज्ञहरूका अनुसार मानसिक तनाव, घरेलु विवाद वा संकटका संकेत देखिएमा तुरुन्त सहयोग खोज्नु अत्यन्त आवश्यक छ। समुदायिक संस्था, हेल्पलाइन र काउन्सेलिङ सेवाको प्रयोगले यस्ता दुःखद घटनाबाट बच्न मद्दत गर्न सक्छ।
भर्जिनियाको यो घटना केवल एक परिवारको त्रासदी मात्र होइन, विदेशमा रहेका नेपाली समुदायका लागि चेतावनी पनि हो—मानसिक स्वास्थ्य, संवाद र सहयोग प्रणाली बलियो बनाउनु अहिलेको टड्कारो आवश्यकता देखिएको छ ।
...
AI generated images