(Japan) 11 th February | 2026 | Wednesday | 7:24:50 AM || (Nepal) 4:09:50 AM
 
 


जापान जाने नाममा ठगी बढेपछि श्रम मन्त्रालयको कडा चेतावनी

  POSTED ON : Tuesday, 10 February, 2026 | Views : 224

जापान जाने नाममा ठगी बढेपछि श्रम मन्त्रालयको कडा चेतावनी


टोकियो, जापान ।

जापानमा रोजगारीका लागि पठाइदिने नाममा ठगीका घटना बढ्दै गएपछि नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

नेपाली राजदूतावास, टोकियो (जापान) बाट प्राप्त जानकारीका आधारमा विभागले जारी गरेको सूचनाअनुसार जापानमा व्यक्तिगत श्रम स्वीकृतिका नाममा गैरकानुनी गतिविधि बढ्दै गएको पाइएको छ । विशेषगरी विद्यार्थी, कुक तथा सिपयुक्त कामदारको नाममा व्यक्तिगत श्रम स्वीकृति दिलाइदिने भन्दै अत्यधिक रकम असुल गर्ने, चर्को शुल्क लिने तर सम्झौताअनुसार काम र तलब नपाउने समस्या देखिएको विभागले जनाएको छ ।

सूचनामा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नपाएका कन्सल्टेन्सी, संस्था वा व्यक्तिले जापानमा काम लगाइदिने आश्वासन दिई नक्कली कागजात तयार गरी व्यक्तिगत श्रम स्वीकृतिका लागि आवेदन गराउने तथा शुल्क असुल गर्ने गुनासो बढेको उल्लेख छ । यस्तो कार्य वैदेशिक रोजगार ऐनविपरीत रहेको भन्दै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कारबाही गरिने विभागले स्पष्ट पारेको छ ।

विभागले जापान जान इच्छुक व्यक्तिहरूलाई आफूले प्राप्त गरेको भिसाको प्रकार, रोजगारदाता, सिओई, करार सम्झौता तथा रोजगारदाता कम्पनी, संस्थासम्बन्धी आधिकारिक जानकारी यकिन गरेर मात्र श्रम स्वीकृतिका लागि आवेदन गर्न आग्रह गरेको छ। साथै, जापानमा रोजगारीमा पठाइदिन्छु भनी आश्वासन दिने, भिसा लगाइदिन्छु भन्ने वा जापानबाट रोजगार सम्बन्धी कागजात मिलाइदिन्छु भन्दै रकम माग्ने व्यक्ति वा संस्थाबारे सम्बन्धित निकायमा उजुरी गर्न पनि अनुरोध गरिएको छ।

यसैबीच, पछिल्लो समय सवारी चालक अन्तर्गत व्यक्तिगत श्रम स्वीकृतिका लागि आएका निवेदन सन्दर्भमा पनि विभागले स्पष्ट पारेको छ। उक्त भिसा जापानमा ड्राइभिङ लाइसेन्सको परीक्षा दिन र पास गरेपछि मात्र रोजगारी सुनिश्चित हुने प्रकृतिको भएकाले हालसम्म रोजगारी तथा रोजगारदाता सुनिश्चित नभएको अवस्थामा उक्त भिसामा श्रम स्वीकृति जारी नहुने विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागले जापान रोजगारीका नाममा हुने ठगीबाट बच्न सर्वसाधारणलाई सचेत रहन र कुनै पनि शंका लागेमा सम्बन्धित सरकारी निकायसँग जानकारी लिन आग्रह गरेको छ।