ईबाराकी, जापान ।
जापानी प्रहरीले टोकियोको उत्तरपूर्वमा रहेको इबाराकी प्रान्तमा हत्या प्रयासको आशंकामा ४० वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले सोमबार साँझ ६:१० बजेतिर मितो शहरको मध्य भागमा चक्कु जस्तो वस्तु बोकेको र मानिसहरू रगतले लतपतिएको रिपोर्ट पाएपछि अभियुक्तलाई नियन्त्रणमा लिएका थिए ।
प्रहरीले सडकमा नजिकैका मानिसहरूलाई चक्कु प्रहार गरेको आशंकामा ती व्यक्तिलाई घटनास्थलमै पक्राउ गरेको बताएको छ ।
अग्नि नियन्त्रण विभागका अधिकारीहरूले चार जना घाइते भएको बताएका छन्, जसमध्ये दुई जना गम्भीर छन् । अस्पताल लगिँदा उनीहरू होशमा नै रहेको बताइएको छ।
घटना जेआर मितो स्टेशनबाट लगभग ७०० मिटर उत्तरपश्चिममा भएको थियो । यो क्षेत्र सुपरमार्केट, रेस्टुरेन्ट र महंगा अपार्टहरुले भरिएको क्षेत्र हो ।