नागोया, जापान ।
काममा जाँदै गरेका नेपाली विद्यार्थीहरु चढेको बस दुर्घटना हुँदा जापानमा कम्तिमा तीन जनाको निधन भएको छ ।
प्राप्त जानकारी अनुसार जापानको मियागी प्रान्तमा रातको समयमा काममा जाँदै गरेका नेपाली विद्यार्थीहरु चढेको बसलाई ट्रकले ठक्कर दिंदा हताहती भएको हो ।
जापानी समाचार संस्थाहरुका अनुसार हालसम्म मृत्युको पुष्टि भएको छैन, तर दुर्घटनामा तीनजनाको अचेत अवस्थामा र एकजनाको गम्भिर अवस्थामा उद्दार गरिएको छ ।
अचेत अवस्थामा पाइएका तीन जनामा दुईजना नेपाली विद्यार्थी र एकजना बसका चालक रहेका छन् भने गम्भिर घाईते ट्रकका चालक हुन् ।
यसरी भयो दुर्घटना
बस जापानको मियागी प्रान्तको कुरिहारा शहरमा पर्ने तोहोकु एक्स्प्रेस वेमा एक कम्पनीतर्फ जाँदै थियो ।
कामदारहरु खोजेर काममा लगाउने कम्पनी मार्फत काममा जाने क्रममा उक्त बसमा करिव ४० जना सवार थिए । बसमा चढेका मध्ये सबैजसो नेपाली विद्यार्थीहरु थिए । बस एक्सप्रेस वेको बिच भागमा गुडिरहेकै अवस्थामा प्राविधिक गडबडी आएपछि रोकिन पुगेको थियो । बस भित्र गनाएको जस्तो गन्ध आएपछि बसमा सवार नेपालीहरुले ढोका खोल्न भन्दै बाहिर निक्लिएका थिए ।
त्यस पश्चात बसका महिला चालकले सबैजनालाई बस रोकिएको ठाउँ भन्दा करिव १०० मिटर अगाडी उभिन लगाएकी थिइन् ।
बसमा आएको प्राविधिक खराबी चेकजाँच गर्न गएकी चालकलाई सहयोग गर्न दुई नेपाली विद्यार्थी टर्च बालिदिन गएका थिए ।
बस चेकजाँचकै क्रममा रहँदा रात करिव ८ बजेर ३ मिनेटमा उहि दिशातर्फ गुडिरहेको ट्रकले पछाडिबाट बसलाई ठक्कर दिएर पल्टाइदिएको थियो ।
बसले ठक्कर दिंदा दुई नेपाली विद्यार्थी र बसको महिला चालक चेकजाँच गरिरहेका थिए । ट्रकले अकस्मात ठक्कर दिंदा उनिहरु तीनैजना घटनामा गम्भिर घाईते बन्न पुगेका थिए ।
घाईते मध्ये एक नेपाली विद्यार्थीलाई करिव आधा घण्टापछि बसमा च्यापिएको अचेत अवस्थामा निकालिएको थियो ।
प्रत्यक्षदर्शीहरुका अनुसार चहिला चालक सहित दुई जना नेपालीको जीवन रहेको कुनैपनि संकेत देखिएको थिएन । ट्रकका चालक समेत गम्भिर घाइते साथै चिन्ताजनक अवस्थामा उद्दार गरिएको थियो ।
प्रहरीले घटनास्थलमा निधनको पुष्टि नगर्ने भएकाले उनिहरु चारजनालाई नै तत्काल अस्पताल लगिएको छ । तर अस्पतालले यसबारेमा बताएको कुनैपनि आधिकारिक विवरण आइसकेको छैन ।
ट्रकले ठक्कर दिएर उछिट्टिएको केही भागले १०० मिटर पर उभिएका केही नेपाली विद्यार्थी घाइते भएका थिए । तर उनिहरुको अवस्था खतरामुक्त रहेको जापानसमाचारलाई प्राप्त जानकारीमा उल्लेख छ ।
दुर्घटनामा परेको बस केहि पुरानो भएकाले प्राविधिक समस्या आएको हुनसक्ने बसमा यात्रा गरेका एक विद्यार्थीले जानकारी दिए । एकसाता अघिसम्म उक्त बसमा सवार सबैलाई अन्य राम्रो कण्डिसनको बसमा लैजाने र ल्याउने गरिएको थियो । साथै अन्य समयमा पुरुष चालकले बस चलाउने गरेको भएपनि दुर्घटनाको दिनमा मंगलबार महिला चालकले बस चलाएको सोहि कम्पनीमा कार्यरत एक नेपाली विद्यार्थीले बताएका छन् ।
घटनाबारेको विस्तृत र आधिकारिक जानकारी आएपछि थप विवरण प्रकाशित गर्नेछौं ।