रामहरी न्यौपाने-काठमाडौं ।
नेपाल र जापावविच जापानमा नेपाली कामदार पठाउन अप्रिल महिनाबाट कामदार भर्ना थाल्ने सहमती भएको छ ।
आकर्षक रोजगार गन्तव्य मुलुकको रुपमा हेरिएको जापानमा नेपाली श्रमिक पठाउने सम्वन्धमा बुधवार नेपाल र जापानका उच्च अधिकारीहरुबिच भएको बैठकमा यस्तो सहमती भएको हो ।
सहमती अनुसार जापान कामदार पठाउँदा दलालको रुपमा रहने बिचौलियाबाट कामदारलाई ठगिनबाट जोगाउनेगरि संयन्त्र तयार पार्न दुईदेशका अधिकारीहरुले जोड दिएका छन् ।
जापानबाट आएको ९ सदस्यीय उच्चस्तरिय टोलि र नेपाल श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सम्मिलित बैठकमा श्रमिक भर्ना र प्रक्रियाका महत्वपूर्ण विषयमा छलफल भएर अनौपचारिक सहमती भएको नेपाली अधिकारीहरुले बताएका छन् ।
नेपालको तर्फबाट वार्ताको नेतृत्व गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार दुई देशबीच यथाशक्य छिटो द्विपक्षीय समझदारी तथा सम्झौता गर्ने र आउँदो अप्रिलबाटै नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु हुनेछ ।
बैठकमा जापानी प्रतिनिधिहरुले संसदबाट नयाँ विधेयक पारित गरेर विदेशी श्रमिकसँग सम्बन्धित अध्यागमन कानुन संशोधन भईसकेको भन्दै नेपाली कामदार बारेको विस्तृत विवरण सहित छिट्टै अर्को टोली सम्झौताको लागि आउने जनाएको छ ।
बैठकमा नेपालले कामदारको रुपमा जापान सरकारले लैजाने नेपाली श्रमिकमाथि अनावश्यक भार पर्न नहुने, पारदर्शी ढंगबाट श्रमिक छनोट हुनुपर्ने, जापानी नागरिकसरह नै नेपालीलाई तलब र सेवासुविधा दिनुपर्ने, बिमा र सामाजिक सुरक्षा हुनुपर्ने र व्यवसायजन्य स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध हुनुपर्ने सर्त राखेको छ ।

जापानी पक्षले स्वदेशी र विदेशी श्रमिकबीच तलब, सेवासुविधामा भेदभाव नभएको, व्यवसायजन्य स्वास्थ्य सुरक्षामा उचित व्यवस्था भएको बताउँदै यसको ग्यारेन्टि हुनेगरि सम्झौता गरिने बताएको छ ।
सुरुमा ५ बर्षे भिषा अवधिमा दक्ष र अदक्ष कामदार ल्याउन लागेको जापानले यस्तो भिषामा आउने कामदारको भाषा, क्षमता, सिप लगायतको मापदण्डबारे केहीदिन भित्रमै नेपाल सरकारलाई जानकारी गराउने जनाएको छ
भाषा तथा केही कामको लागि सिप परिक्षण लगायतको कार्यविधि बन्ने क्रममा रहेको जापानी टोलीले जानकारी दिएको छ । नेपाल र जापान सरकारकोबीचमा श्रम–समझदारी भए पनि कामदार आवश्यक भएका जापानका कम्पनीहरुको माग अनुसार नेपाली श्रमिक भर्ना गरिने बताईएको छ । कति संख्यामा नेपाली कामदार जापान जाने भन्ने टुंगो जापानी कम्पनीले माग गर्ने नेपाली कामदारको संख्यामा निर्भर रहने बताईएको छ ।
श्रम मन्त्रालयले द्विपक्षीय श्रम समझदारीपछि मात्रै श्रमिक भर्ना प्रक्रिया सुरु हुने हुँदा सचेत रहन आग्रह गर्दै आएको छ ।
जापान पठाउने भन्दै भाषा, सिप लगायतको कुरा गरेर पासपोर्ट पैसा आदि लिएको घटना सार्वजनिक हुन थालेकोप्रति सचेत रहँदै श्रम मन्त्रालयले आधिकारीक रुपमा नेपाल र जापानबिच सम्झौता भएर विस्तृत विवरण सार्वजनिक नभएसम्म कसैलाईपनि आफ्नो पासपोर्ट वा पैसा नबुझाउन अनुरोध गरेको छ ।
जापानले लैजाने नेपाली कामदारले कुनैपनि शुल्क तिर्नुनपर्नेगरि सम्झौताको पहल भईरहेकाले जापान पठाउने नाममा ठगि गर्नेहरुबारे प्रहरीमा सूचना दिन समेत श्रम मन्त्रालयका अधिकारीहरुले आग्रह गरेका छन् ।