टोकियो, जापान ।
जापानमा ६५ वर्ष वा सो भन्दा बढी उमेरका नागरिकहरुले मासिक रुपमा तिर्नु पर्ने औसत नर्सिङ हेरचाह बीमा प्रिमियम ६ हजार येनमाथि पुगेको छ ।
आर्थिक वर्ष २०२१/२३ को लागि यस्तो प्रिमियम ६ हजार १४ येन तिर्नु पर्ने स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । यो आर्थिक वर्ष २०१८/२० को तुलनामा १४५ येन धेरै हो ।
वृद्ध जनसंख्या बढेसँगै नर्सिङ हेरचाह सेवा प्रयोग गर्ने मानिसहरुको संख्या बढिरहेको छ र नर्सिङ हेरचाहको शुल्कमा पनि सोही अनुरुप वृद्धि भइरहेको छ । सन् २००० देखि सन् २००२ को बीचमा औसत मासिक नर्सिङ हेरचाह बीमा प्रिमियम २ हजार ९११ येन थियो । अर्थात् गएको २ दशकमा प्रिमियम दोब्बरभन्दा धेरै बढेको छ ।
नर्सिङ हेरचाह बीमा हरेक तीन-तीन वर्षमा जापानका १ हजार ५७१ स्थानीय सरकार र नर्सिङ हेरचाहको विस्तारित संगठनहरुले पुनरवलोकन गर्छन् । पछिल्लो पुनरवलोकनमा ४८ दशमलव ६ प्रतिशत नगरपालिकाहरुले आफ्नो प्रिमियम बढाएका थिए । ३६ दशमलव २ प्रतिशतले यथावत् र १५ दशमलव २ प्रतिशतले घटाएका थिए ।
उच्च मासिक प्रिमियम टोकियोको आओगाशिमामा मासिक ८ हजार ८०० येन रहेको छ । गोजोमे, आकिता प्रिफेक्चरमा ८ हजार ३०० र खाचुराओ, फुकोशिमामा ८ हजार २०० रहेको छ । सबैभन्दा न्यून प्रिमियम होक्काइदोको ओतोइनेप्पु र गुन्माको कुसासुमा ३ हजार ३०० छ । टोकियोको ओगासावारामा यो दर ३ हजार ३७४ छ ।
सन् २०२० को अन्त्यसम्ममा जापानमा ३ करोड ५७ लाख वृद्धवृद्धा छन् । यीमध्ये ६७ लाख अर्थात् १८ दशमलव ७ प्रतिशत नर्सिङ हेरचाह सेवा वा अन्य टेवा चाहिने भनेर प्रमाणीकृत गरिएका छन् ।
जापानमा वृद्ध जनसंखया बढ्दै गइरहेकोले आगामी दिनहरुमा नर्सिङ हेरचाह प्रिमियम बीमाको लागत झनै बढ्ने अपेक्षा गरिएको छ ।