टोकियो, जापान ।
जापानले थप २ वटा कोरोना भाइरस बिरुद्धको खोपलाई स्वीकृत गरेको छ ।
जापानको स्वास्थ्य मन्त्रालयको एक विशेषज्ञ प्यानेलले दुईवटा नयाँ कोरोना भाइरस खोपको प्रयोग अनुमोदन गर्ने निर्णय गरेसँगै सरकारले शुक्रबार यसलाई स्विकृत गरेको हो । स्विकृत भएका नयाँ खोपमा अमेरिकी औषधि कम्पनी मोर्डर्ना र अर्को बेलायती औषधि एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले बनाएको खोप रहेको छ ।
दुबै खोपहरू हाल युरोपियन सहित विश्वका ५० बढी देशमा प्रयोगमा रहेको छ । जापानमा स्विकृत भएका नयाँ भ्याक्सिनहरुको क्लिनिकल परीक्षणहरूले भाइरसलाई दबाउन एन्टिबडी निर्माणमा सघाउने देखाएको छ ।
मन्त्रालयले १८ बर्ष वा माथि उमेरका लागि दुबै खोपको प्रयोगलाई अनुमोदन गरेको छ ।
तर यसले अस्ट्राजेनेका खोपको उपयोगको लागि सिफारिश गरिएको उमेर सीमा तोक्न सक्नेछ । किनभने ईयु नियामक प्राधिकरणले चेतावनी दिएको छ कि एकाध व्यक्तिमा रगत जम्ने खालको घातक असर देखिएको छ ।
प्यानलले अनुमोदन गरेपछि स्वास्थ्य मन्त्री तमुरा नोरिहिसाले शुक्रवार खोपलाई औपचारिक रूपमा प्रयोग थालिने घोषणा गरेका हुन् ।
मोडेर्नाको खोप अर्को सोमबार टोकियो र ओसाकामा ठूला खोप केन्द्रहरुमा लगाउन थालिने तयारी भइसकेको छ । यसको लागि दश लाख भन्दा बढी मात्रामा खोप आयात गरिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
देशभर टोकियो ओसाकामा जस्तै ठूला खोप केन्द्र निर्माण जारी रहेको र यसै महिनाको अन्त्यसम्ममा दुई दर्जन बढी प्रान्तमा ठूला खोप केन्द्र संचालनमा आउने सरकारले बताएको छ । ति खोप केन्द्रहरु मध्ये एउटै केन्द्रमा एकैदिन ५ देखी अधिकतम १० हजार व्यक्तिसम्मले खोप लगाउन सक्नेछन् ।