(Japan) 27 th June | 2026 | Saturday | 4:19:34 PM || (Nepal) 1:04:34 PM
 
 

जापानी कम्पनीहरुले कोरोनाको खोप लगाउने कर्मचारीलाई बिदा दिन थाले

  POSTED ON : Friday, 21 May, 2021 | Views : 4530

जापानी कम्पनीहरुले कोरोनाको खोप लगाउने कर्मचारीलाई बिदा दिन थाले


टोकियो, जापान ।

जापानभर कोरोना भाइरस विरोधी खोप लगाउन कर्मचारीहरुलाई तलबी बिदा दिने कम्पनीहरुको संख्या बढिरहेका छन् । खोप लगाउन र सम्भावित साइड इफेक्टसँग जुध्नका लागि बिदा दिने नीति थप कम्पनीहरुले पनि लिइरहेका छन् ।

यो अवधारणा जापानमा कोरोना भाइरस विरोधी खोप अभियानको जिम्मा पाएका मन्त्री तारो कोनोले ल्याएका थिए । कोनोले मार्चमा शुरुमा व्यवसायिक समुदायलाई खोपका लागि आफ्नै इच्छाले कर्मचारीहरुलाई बिदा दिन भनेका थिए । गत हप्ता जापानको सबैभन्दा ठूलो व्यवसायिक संगठन केइदान्रेनका उपाध्यक्ष तेचुरो तोमितासँग गत हप्ताको बैठकमा कोनोले तलबी खोप बिदा कार्यान्वयन गर्ने अनुरोध मजबूत गरेका छन् ।

जापानको काम गर्ने जनसंख्याका लागि खोप अहिले पनि उपलब्ध भइसकेको छैन । अहिले खोप स्वास्थ्यकर्मी र ६५ वर्ष वा सो भन्दा बढी उमेरका मानिसहरुलाई मात्रै लगाइरहेको छ । तर केही कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई खोप लगाउन सहज होस् भनेर अहिलेदेखि नै आधार बनाइरहेका छन् । वार्षिक तलबी बिदाबाहिर खोप लगाउनका लागि केही घन्टा वा दिन नै बिदा दिने प्रणालीको सृजना गरिरहेका छन् । यीमध्ये एउटा मिचुबिशी इलेक्ट्रिक कर्पोरेशन पनि हो ।

कम्पनीले फूल-टाइम, पार्ट-टाइम र करारका कर्मचारीसमेत सबैलाई हरेक पटकको खोप लगाउँदा एक दिन तलबी बिदा दिने भएको छ । कर्मचारीहरुले सप्ताहन्तमा खोप लगाउनु पर्ने र बिदाको बेलामा खोफ लगाउनेको भिड हुने अवस्था नआओस् भनेर यसो गरिएको कम्पनीले एक विज्ञप्तिमा भनेको छ । मेइजी यासुडा लाइफ इन्सुरेन्स कम्पनीले पनि खोप बिदा प्रणाली शुरु गर्न लागेको छ । यसमा कर्मचारीले खोप लगाउँदा मात्रै नभएर खोपका कारण ज्वरो लगायतका समस्याहरु आउँदा समेत बिदा दिइने कम्पनीका प्रवक्ता माकोतो कुरानागाले बताएका छन् ।

कर्मचारीहरुले खोप लगाउन चाहे भने ढिलो भन्दा चाँडै नै खोप लगाउनु राम्रो हुने उनले बताए । याहू जापान, सफ्टबैंक र इ–कमर्श कम्पनी मेरुकारी इंकले पनि यस्तै ढाँचा अपनाएका छन् । मेरुकारीमा करारका कामदार र इन्टर्नले समेत सबै कर्मचारीले आफ्नो लागि खोप लगाउन मात्रै नभएर खोप लगाउनका लागि खोप केन्द्रसम्म लगिदिनु पर्ने अवस्था भएका घर परिवारका सदस्य र जीवनसाथीका लागि र खोप लगाएपछि हुन सक्ने साइड इफेक्टसँग जुझ्नका लागि समेत बिदा दिने नीति ल्याएको छ ।