टोकियो, जापान ।
जापानले कोरोना भाइरस विरोधी तेस्रो औषधिलार्ई प्रयोगको अनुमति दिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार रुमटोइड आर्थराइटसको औषधि ब्यारिसाइटिनिबलाई प्रयोग गर्न अनुमति दिएको हो । यसअघि मन्त्रालयले रेम्ड़ेसिभिर र डेक्सामेथासोनलाई स्वीकृति दिइसकेको छ ।
ब्यारिसाइटिनिबले प्रतिरक्षामा आउने असन्तुलनका कारण हुने समस्या कम गर्न मद्दत गर्ने बताइएको छ । यो औषधि यस अघि नै रुमटोइड आर्थराइटस र एटोपिक डेर्माटिटिसको उपचारमा प्रयोग भइरहेको छ । गत वर्ष नोभेम्बरमा अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले यस औषधिलाई एन्टिभाइरल औषधि रेम्ड़ेसिभिरसँग मिलाएर कोभिड–१९ का बिरामीहरुमा प्रयोग गर्न आपतकालनि अनुमति दिएको थियो ।
यो औषधि जापानमा इली लिली जापानले उत्पादन र विक्री वितरण गर्दैछ । विश्वभर करीब २ लाख कोभिडका बिरामीमा ब्यारिसाइटिनिबको प्रयोग भइसकेको सोमबार पत्रकार सम्मेलनमा इली लिली जापानले बताएको छ । यो औषधि जापानमा आगामी मार्चको अन्त्यसम्ममा ४ हजार ५०० देखि ६ हजार मानिसको उपचारका लागि प्रयोग हुने अपेक्षा गरिएको कम्पनलिे बताएको छ । औषधि निमोनियाका कारण पूरक अक्सिजन दिनु पर्ने वयस्क बिरामीलाई मात्रै यो औषधि दिइनेछ ।
यसलाई रेम्ड़ेसिभिरसँग मिलाएर सेवन गर्न लगाइनेछ । औषधि एक दिनमा एक वटक मात्रै दिइनेछ । गर्भवति महिलाका लागि यो औषधि प्रयोगको अनुमति दिइएको छैन । रेम्डेसिभिर मात्रै प्रयोग गर्दा भन्दा रेम्ड़ेसिभिरको साथमा ब्यारिसाइटिनिबलाई प्रयोग गर्दा बिरामी औसत एक दिन छिट्टै निको भएको अन्तरराष्ट्रिय क्लिनिकल परीक्षणहरुले देखाएको इली लिली जापानले बताएको छ ।