टोकियो, जापान ।
जापानी इलेक्ट्रोनिक्स कम्पनी पानासोनिक कर्पोरेशनले कोभिड–१९ विरोधी खोप भण्डारण गरेर राख्न मिल्ने कोल्ड बक्स बनाएको छ । कम्पनीले बिहिवार यसबारे जानकारी दिएको हो । यस बक्समा राखेर खोपलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान समेत सकिने कम्पनीको भनाइ छ ।
बक्समा ड्राई आइस लगायत जमाउने कुराहरु राखेर १८ दिनसम्म सामानलाई माइनस ७० डिग्री सेल्सियससम्म भण्डारण गरेर राख्न सकिने कम्पनीको भनाइ छ । यसका लागि विजुली पनि नचाहिने बताइएको छ । पानासोनिकले यी बक्सहरु मार्चमा परीक्षणका लागि फर्मा कम्पनी र वितरकहरुलाई उपलब्ध गराउने छ । यही बसन्त यामदेखि भने बक्स भाडामा दिने कम्पनीको लक्ष्य छ । जापानले फेब्रुअरीको अन्त्यदेखि कोभिड–१९ विरोधी खोप लगाउन थाल्ने तयारी गरेको छ ।
अमेरिकी फर्मा कम्पनी फाइजर इंक र जर्मन साझेदार बायोएनटेकले बनाएको कोरोना विरोधी खोप माइनस ७० डिग्री वा सो भन्दा पनि न्यून तापक्रममा भण्डारण गरेर राख्नु पर्दछ । तर अमेरिकी फर्मा कम्पनी मोडेर्नाको खोप भने सामान्य खालको फ्रिजरमै पनि माइनस २० डिग्री सेल्सियसमा ६ महीनासम्म भण्डारण गरेर राख्न सकिन्छ ।
बक्समा रेफ्रिजिरेशनको प्रकार र परिणाम परिवर्तन गरेर भित्रको तापक्रम विभिन्न स्तरमा राख्न सकिन्छ । बक्स ५७ लिटर र १२० लिटर गरी २ आकारमा उपलब्ध छ ।
जापानमा फाइजरको खोपलाई फेब्रुअरी १५ मा प्रयोगको अनुमति मिल्ने अपेक्षा गरिएको छ । कम्पनीबाट जापानले आधा भन्दाबढी जनसंख्यालाई पर्याप्त हुने खोप सुरक्षित गरिसकेको छ ।