(Japan) 24 th August | 2026 | Monday | 11:39:05 AM || (Nepal) 8:24:05 AM
 
 


प्रविधिको अधिकतम प्रयोग ! जापानमा रोबोटोबाटै कोरोनाको परीक्षण

  POSTED ON : Thursday, 21 January, 2021 | Views : 1812

प्रविधिको अधिकतम प्रयोग ! जापानमा रोबोटोबाटै कोरोनाको परीक्षण


टोकियो, जापान ।

जापानले कोरोना भाइरसको परीक्षण बढाउन रोबोटको प्रयोग गर्न खोजिरहेको छ । मंगलबार यहाँका स्वास्थ्यमन्त्रीले स्वचालित परीक्षण यन्त्रको प्रोटोटाइप हेरेका थिए । सो यन्त्रले रोबोटिक आर्मको प्रयोग गरेर व्यक्तिको नाकबाट नमूना लिएर करीब ८० मिनेटमै नतिजा दिन सक्ने बताइएको छ ।

रोबोट प्रणाली कावासाकी हेभी इन्डिष्ट्रिज इंकले बनाएको हो । यो सामान्य खालको ढुवानी कन्टेनरमा अटाउने र ट्रकको माध्यमबाट लैजान सकिने कम्पनीले बताएको छ । यस यन्त्रलाई रंगशाला, थिम पार्क र मानिसहरुको भिडभाड धेरै हुने स्थानमा जडान गर्न सकिने कम्पनीको भनाइ छ ।

विश्वको प्रवृत्ति हेर्दा जापानले पनि परीक्षण गर्ने मानिसको संख्या बढाउनु पर्ने र रोकथाममूलक परीक्षणको माग बढेको प्रदर्शनका क्रममा मन्त्री नोरिहसा तामुराले पत्रकारहरुलाई बताए । जापानको न्यून परीक्षण दरका कारण प्रधानमन्त्री योशिहिदे सुगा नेतृत्वको सरकारले निकै आलोचना खेप्नु परेको छ ।

टोकियो ओलम्पिक शुरु हुनु अघिसम्ममा दैनिक संक्रमित संख्या २०० भन्दा तल झारेर महामारी नियन्त्रण गर्न गरेको देखाउनु पर्ने दबाबमा सरकार छ । तर कोरोना भाइरस विरोधी खोप अहिलेसम्म पनि शुरु भएको छैन । रोबोट परीक्षण प्रणालीको प्रयोगले मेडिकल श्रमशक्ति जोगाउन र शुद्धता सुधारमा मद्दत गर्ने अपेक्षा तामुराको छ । यस क्रममा उनले कावासाकीको हेभीसेट–अप प्रयोग गर्ने वाचा भने गरेनन् ।

मंगलबार प्रदर्शन गरिएको सो प्रोटाइपले व्यक्तिहरुबाट नमूना लिन र पीसीआर गर्न मानवद्वारा सञ्चालित रोबोटिक आर्म प्रयोग गर्दछ । सो यन्त्र यताउता सार्न सकिने ४० फिटको शिपिङ कन्टेनरमा राखिएको छ । यसले हरेक १६ घन्टामा २ हजारसम्म नमूना परीक्षण गर्न सक्ने बताइएको छ । महामारी शुरु भएदेखि नै जापानको परीक्षण दर अन्य प्रमुख अर्थतन्त्रको तुलनामा कम थियो । जापानले अहिले दैनिक रुपमा ५५ हजार पीसीआर परीक्षण गरिरहेको सरकारी डेटाले देखाएको छ । यो यसको क्षमता आधाभन्दा पनि कम भएको बताइएको छ ।