सिजुओका, जापान ।
जापानको सिजुओका प्रिफेक्चरले आपतकाल घोषणा गरेको छ । तीन जनामा छिटो संक्रमण सार्ने बेलायतमा फैलिएको परिवर्तित नयाँ कोरोना भाइरस संक्रमण पाईएको एक दिनपछि प्रिफेक्चरल सरकारले आपतकाल घोषणा गरेको हो । गभर्नर हेइता कावाकासुले पत्रकार सम्मेलनमा आपतकाल घोषणा गरेका हुन् । भाइरसको नयाँ प्रकार कसरी फैलियो भन्नेबारे प्रिफेक्चर सरकारलाई जानकारी नभएको समेत उनले बताए ।
संक्रमण रोकथामका लागि विस्तृत उपायहरु अपनाउन जरुरी भएको र स्वास्थ्य उपचारको प्रवाधान सम्बन्धी उपायहरु थप बलियो बनाइने उनको भनाइ छ । जापानमा नयाँ प्रकारको भाइरस संक्रमण पूष्टि भएको यो पहिलो पटक भएको र संक्रमण कहाँबाट सर्यो भन्ने थाहा हुन नसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
बेलायतमा पछिल्लो समय फैलिरहेको नयाँ भाइरससँग मिल्दो जुल्दो सो भाइरस देशका अन्य हिस्सामा पनि फैलिएको छ कि भनेर नमूना संकलन गरिने स्वास्थ्य मन्त्रालयले सोही दिन बताएको थियो ।आफूहरुले अवस्थाको दृढतापूर्वक जाँच गर्नु पर्ने स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री नोरिहिसा तामुराले पत्रकार सम्मेलनमा बताए ।
तत्कालै भने नयाँ प्रकारको भाइरस देशभर फैलिएको प्रमाण नपाइएको उनको भनाइ छ । सोमबार प्रिफेक्चरमा २० देखि ६९ उमेर समूहका तीन व्यक्तिमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पूष्टि भएको थियो ।
यी मध्ये तीन जना बेलायत गएको वा त्यहाँबाट फर्किएका व्यक्तिहरुसँगको सम्पर्कमा आएका छैनन् । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएपछि जापानको नेशनल इन्ष्टिच्यूट अफ इन्फेक्शस डिजिजले कोरोना भाइरस संक्रमित व्यक्तिहरुबाट नमूना संकलन गरेर जेनोमिक विश्लेषण गरिरहेको थियो ।