टोकियो, जापान ।
टोकियोमा कोरोना भाइरसको परीक्षण सकारात्मक देखिएपछि उपचारका लागि अस्पताल वा त्यस्तै खालका अन्य एकाईहरु पाउन नसकेका बिरामीका संख्या शनिवारसम्म ६ हजार नाघेको छ । बुधवार स्वास्थ्य मन्त्रालयको विज्ञहरुको समितिले यस्तो बताएको हो ।
समितिका अनुसार यो एक हप्ता अघिको तुलनामा ठ्याक्कै दोब्बर हो । संक्रमण बढ्दो क्रममा रहेसँगै बिरामीलाई अस्पताल वा अन्य निर्धारित स्थलहरुमा राख्ने व्यवस्था मिलाउन स्थानीय अधिकारीहरुलाई कठिन भइरहेको समितिले बताएको छ । कोरोना भाइरसका बिरामी र अन्य रोग वा घाउ चोट लागेका बिरामीबीच उपचारको तालमाल मिलाउने सकस बढिरहेको छ ।
गत वर्षको अन्त्ययता जापानमा कोभिड–१९ का बिरामीको संख्या तीव्र दरमा बढिरहेको छ । यो वृद्धि मुख्यतः टोकियोमा भइरहेको छ ।यहाँ संक्रमितको दैनिक संख्याले निरन्तर नयाँ उचाई छुने अपेक्षा गरिएको समितिको भनाइ छ । नयाँ संक्रमितको संख्या नयाँ वर्ष शुरु भएदेखि नै चुक्यो, कान्साई क्षेत्र, क्युशुमा पनि बढ्दो क्रममा रहेको छ ।
केन्द्र सरकारले तीव्र गतिमा संक्रमण बढिरहेका टोकियो र आसपासका साइतामा, चिबा र खानागावा प्रिफेक्चरमा शुक्रवारदेखि एक महिने आपतकाल लगाएको छ । टोकियो र अन्य महानगर क्षेत्रमा वर्षको अन्त्यतिर भएका कर्पोरेट र अन्य पार्टी र जमघटबाट फैलिएको समितिको भनाइ छ । त्यति बेला मानिसहरु आफ्ना मातापितालाई भेट्न गृहनगर जाने र आफन्तहरुसँग बसेर खानपिन गर्ने गतिविधिमा संलग्न रहेकोले वृद्धवृद्धाहरु माझ पनि संक्रमण फैलिने चिन्ता समितिले गरेको छ ।