(Japan) 1 st July | 2026 | Wednesday | 3:33:16 AM || (Nepal) 12:18:16 AM
 
 

विश्वकपमा जापानको विश्व किर्तिमान : नो रेड कार्ड- ब्राजिलको सबैभन्दा खराब रेकर्ड, आज के होला ?

  POSTED ON : Tuesday, 30 June, 2026 | Views : 330

विश्वकपमा जापानको विश्व किर्तिमान : नो रेड कार्ड- ब्राजिलको सबैभन्दा खराब रेकर्ड, आज के होला ?


टोकियो, जापान ।

फिफा विश्वकपको इतिहासमा जापानी फुटबल टोलीले अनुशासनको एउटा उत्कृष्ट र अद्भूत विश्व कीर्तिमान कायम राखेको छ। 

सन् १९९८ मा पहिलोपटक विश्वकपमा डेब्यु गरेदेखि हालसम्म खेलेका सबै खेलहरूमा कुनै पनि जापानी खेलाडीले एउटा पनि रातो कार्ड (Red Card) पाएका छैनन्।


विश्वकपको मैदानमा जापानी खेलाडी र उनीहरूका समर्थकहरू आफ्नो अनुशासित र भद्र व्यवहारका लागि विश्वभर परिचित छन्। जहाँ मैदानमा जापानी टोलीले स्वच्छ खेल (Fair Play) को कडा पालना गर्छ, त्यहीँ खेल सकिएपछि रंगशाला सफा गरेर जापानी समर्थकहरूले सधैं विश्वको मन जित्ने गरेका छन्।


विश्वकप इतिहासको यो अनुशासित रेकर्डसँगै जोडिएका अन्य रोचक र बढी रातो कार्ड पाउने देश, खेलाडी र रेफ्रीका विवरणहरू यस प्रकार छन्

विश्वकपमा सबैभन्दा बढी रातो कार्ड पाउने देशहरू

जापानले 'शून्य' रातो कार्डको कीर्तिमान राख्दा, फिफा विश्वकपको इतिहासमा सबैभन्दा बढी रातो कार्ड पाउने टोलीहरू यस प्रकार छन्:

ब्राजिल: ११ पटक रातो कार्ड (विश्वकप इतिहासमै सबैभन्दा बढी)

अर्जेन्टिना: १० पटक रातो कार्ड

क्यामरुन: ९ पटक रातो कार्ड

उरुग्वे: ९ पटक रातो कार्ड

नेदरल्याण्ड्स: ८ पटक रातो कार्ड


सबैभन्दा बढी रातो कार्ड पाउने खेलाडीहरू

विश्वकपको इतिहासमा दुई जना यस्ता खेलाडी छन्, जसले आफ्नो खेल जीवनमा दुई-दुई पटक रातो सामना गर्नुपरेको छ । 


जिनेदिन जिदान (फ्रान्स): सन् १९९८ को विश्वकपमा र सन् २००६ को फाइनल खेलमा (मार्को म्याटेराजीलाई टाउकोले हानेको चर्चित घटना)।


रिगोबर्ट सोंग (क्यामरुन): सन् १९९४ र सन् १९९८ को विश्वकपमा।


रेफ्री र एउटै खेलमा धेरै रातो कार्डको कीर्तिमान

सबैभन्दा बढी रातो कार्ड दिने रेफ्री: मेक्सिकोका रेफ्री आर्तुरो ब्रिजियो कार्तेर (Arturo Brizio Carter) ले आफ्नो करियरमा जम्मा ६ वटा विश्वकप खेल खेलाउँदै सबैभन्दा बढी ७ वटा रातो कार्ड दिएर कीर्तिमान बनाएका छन्।


एउटै खेलमा सबैभन्दा बढी रातो कार्ड (ब्याटल अफ न्युरेम्बर्ग)

सन् २००६ को विश्वकपमा पोर्चुगल र नेदरल्याण्ड्सबिच भएको खेललाई फुटबल इतिहासकै सबैभन्दा आक्रामक खेल मानिन्छ। 


रुसी रेफ्री भ्यालेन्टिन इभानोभले उक्त खेलमा ४ वटा रातो कार्ड र १६ वटा पहेंलो कार्ड देखाएका थिए।


सबैभन्दा धेरै रातो कार्ड दिइएको विश्वकप

सन् २००६ को जर्मनी विश्वकपमा इतिहासकै सबैभन्दा बढी २८ वटा रातो कार्ड प्रयोग गरिएको थियो ।