(Japan) 12 th October | 2025 | Sunday | 10:26:21 AM || (Nepal) 7:11:21 AM
 
 

खुशीको खवर : नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

  POSTED ON : Friday, 01 August, 2025 | Views : 358

खुशीको खवर : नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने


काठमाडौं, नेपाल ।

नेपाली खेलकुद ईतिहासमै पहिलो पटक नेपालमा कुनैपनि खेल अन्तर्गतको विश्वकप छनौटका खेल आयोजना हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार आईसीसी महिला टी–२० विश्वकप २०२६ को छनोट नेपालमा आयोजना हुने भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई आउँदो वर्षको जनवरी १२ देखि १६ सम्म हुने महिला टी–२० विश्वकप छनोटको खेल हुने घोषणा गरेको छ ।

छनोटमा चार स्थानका लागि १० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा १० टोलीलाई पाँचरपाँच वटाको दुई समूहमा विभाजन गरिनेछ, त्यसपछि सुपर सिक्स चरण र फाइनल हुनेछ । प्रतियोगिताको खेल तालिका भने सार्वजनिक हुन बाँकी रहेको छ ।

सन् २०२४ को आईसीसी महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण बङ्गलादेश र आयरल्यान्डले छनोटमा स्वतः स्थान हासिल गरेका छन् । नेपाल र थाइल्यान्ड एशिया क्षेत्रबाट छनोट हुँदा अमेरिकाले अमेरिका क्षेत्रबाट आफ्नो स्थान सुरक्षित गरेको छ । 

बाँकी पाँच ठाउँ अफ्रिका र युरोपबाट दुईरदुई टोली र पूर्वी एशिया–प्रशान्त क्षेत्रबाट एक टोलीले आ–आफ्नो क्षेत्रीय छनोट पूरा गरेपछि पूरा हुनेछ ।

१०औं संस्करणको महिला टी–२० विश्वकप भने सन् २०२६ को जुन १२ देखि जुलाई ५ सम्म इङ्ग्ल्यान्ड र वेल्समा हुने कार्यतालिका रहेको छ ।