टोकियो, जापान ।
११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर जापानमा रहेका नेपाली समुदायबीच विशेष कार्यक्रम आयोजना हुने भएको छ ।
“Give to Gain” भन्ने मूल नारासहित तथा “नारीको सम्मान राष्ट्रको अभिमान” भन्ने सन्देशलाई केन्द्रमा राख्दै कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रम आगामी ७ मार्च २०२६ (शनिबार) दिउँसो १२:०० बजेदेखि टोकियोको मेगुरो (2 Chome-4-36, Meguro City, Tokyo 153-0063) मा आयोजना हुनेछ। कार्यक्रममा नारी सशक्तीकरण, समान अधिकार, महिला स्वास्थ्य तथा सामाजिक सचेतनासम्बन्धी विविध विषयमा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिनेछ । साथै नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्न सांस्कृतिक प्रस्तुति पनि समावेश रहने बताइएको छ ।
कार्यक्रमको संयुक्त आयोजना नेपाली राजदूतावास टोकियो र गैरआवासीय नेपाली संघ जापानले गरेका हुन् भने सह–आयोजकका रूपमा साहित्यिक चौतारी नेपाल जापान शाखा रहेको छ । आयोजक संस्थाहरूले प्रवासमा रहेका नेपाली महिलाको भूमिका, चुनौती र अवसरबारे छलफल गर्दै समुदायबीच सहकार्य सुदृढ गर्ने लक्ष्य लिएको बताएका छन्।
आयोजकले जापानमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली समुदाय, विशेषगरी दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई नारी अधिकार र सम्मानको सन्देशलाई अझ व्यापक बनाउन हार्दिक अनुरोध गरेका छन्। यस्ता कार्यक्रमले प्रवासी नेपाली समाजमा लैङ्गिक समानता, स्वास्थ्य सचेतना र नेतृत्व विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।