एजेन्सी ।
संयुक्त राज्य अमेरिका र इजरायलले २८ फेब्रुअरी २०२६ मा ‘Operation Lion’s Roar’ तथा ‘Epic Fury’ को नाम दिई इरानमाथि ठूलो रुपमा हवाई तथा मिसाइल आक्रमण गरेका छन् । इजरायलले ५०० भन्दा लक्ष्यमा हमला गरेको रिपोर्ट छ, जसमा सैन्य ठेगानाहरु, मिसाइल साइटहरू र अन्य रणनीतिक स्थानहरू छन् ।
तेहरान, इस्फाहान, कोम तथा अन्य प्रमुख शहरहरूमा विस्फोटको आवाज आएको र धुवाँ उठेको दृश्यहरू देखिएका छन्।
इजरायली प्रधानमन्त्री तथा सेनाप्रमुखहरूले दाबी गरेका छन् कि इरानका शीर्ष सैन्य तथा राजनीतिक नेताहरूलाई निशाना बनाइएको छ — यसमा सुप्रीम लीडर आयातोल्लाह अली खामेनेई, रक्षा मन्त्री तथा रिभोलुसनरी गार्ड्सका उच्च अधिकारी समावेश छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी अमेरिका र इजरायली आक्रमणमा मारिएको दाबी गरेका छन्। इरानी अधिकारीहरूले उक्त दाबीलाई अस्वीकार गरेका छन्, खामेनीको कार्यालयले यसलाई ूमनोवैज्ञानिक युद्धू भनेको छ।
क्षेत्रीय देशहरूले लडाईं अन्त्य गर्न अपील गरे पनि अमेरिका र इजरायल दुवैले निकट भविष्यमा आक्रमण जारी राख्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले तेहरानले यस क्षेत्रभरिका सबै अमेरिकी र इजरायली अड्डाहरू र अन्य प्रतिष्ठानहरूमा आक्रमणलाई आफ्नो आत्मरक्षाको हिस्सा मानेको र आक्रमण रोक्ने कुनै संकेत नदेखाएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई “आक्रामक खतरा अन्त्य गर्ने” उद्देश्यले गरेको जिकिर गरेका छन् र इरानी नेतृत्वलाई सरकार छोड्न पहल गर्न दबाब दिएका छन्।
इरानले प्रतिआक्रमण जारी राखेको छ । मिसाइल तथा ड्रोनको प्रयोग गरी इजरायल, खाडी राष्ट्रहरूमा रहेको अमेरिकी बेस र अन्य क्षेत्रमा निशाना बनाउने प्रयास गरेको छ ।
इरानका सरकारी वृत्तहरूले संयुक्त आक्रमणलाई “अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन” भनेका छन् र कडा जवाफी कदमको चेतावनी दिएका छन् ।
कम्तीमा २०० भन्दा बढी नागरिकको मृत्यु र सयौं घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ, विशेषगरी शैक्षिक संस्थामा बमबारीले ठूलो जनधनको क्षति पुगेको छ।
दक्षिणी इरानको मिनाब शहरका गभर्नरले अमेरिका इजरायली सेनाले शहरको एक विद्यालयमा गरेको बम विस्फोटमा मृत्यु हुनेको संख्या ११५ पुगेको घोषणा गरेका छन् ।
इरानका धेरै महानगरमा जनताले भयका कारण आन्तरिक स्थानान्तरण र खाद्य तथा इन्धन जम्मा गरेका छन्।
मध्यपूर्वका धेरै देशहरूले हवाई क्षेत्र बन्द गरेका छन्, जसका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित छन्।
खाडीका अरबी देशहरूमा समेत मिसाइल तथा प्रतिआक्रमणका कारण तनाव चुलिएको छ।
संयुक्त राष्ट्र सुरक्षा परिषद् र विश्व नेताहरूले तत्काल स्थिति शान्त पार्न तथा कूटनीतिक प्रतिवाद को माग गरेका छन्।
यो हमला २०२५ मा भएको ‘१२ दिने युद्ध’ पछि सबैभन्दा ठूलो उग्रता हो, जसमा भारी सैन्य गतिविधिहरू देखिएका छन्।
विशेषज्ञहरू चेतावनी दिइरहेका छन् कि यो टकराव मध्यपूर्वका लागि अझ ठूलो संभावित नयाँ युद्धको शुरुआत हुन सक्छ, जसले आर्थिक, ऊर्जा र दीर्घकालीन सुरक्षा प्रभावहरू निम्त्याउन सक्छ ।