(Japan) 13 th March | 2026 | Friday | 7:38:42 PM || (Nepal) 4:23:42 PM
 
 


कोरियाका पूर्व राष्ट्रपति युन सुक येओललाई आजीवन कारावासको सजाय

  POSTED ON : Thursday, 19 February, 2026 | Views : 418

कोरियाका पूर्व राष्ट्रपति युन सुक येओललाई आजीवन कारावासको सजाय


एजेन्सी ।

सियोल केन्द्रीय जिल्ला अदालतले बिहीबार पूर्व राष्ट्रपति युन सुक येओललाई विद्रोहको नेतृत्व गरेकोमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ ।

युन सुक येओलले राष्ट्रिय सभामा सेना पठाएर संविधानलाई उल्टाउने उद्देश्यले काम गरेको ठहर गर्दै यो फैसला सुनाउँदै अध्यक्ष न्यायाधीश जी ग्वि-येओनले पूर्वराष्ट्रपति यउल संवैधानिक व्यवस्था उल्ट्याउन र संसदको कामलाई हिंसात्मक रूपमा दबाउन जिम्मेवार भएको बताए ।

जनवरी १३ मा, मुद्दा चलाउने विशेष वकिलले मृत्युदण्डको अनुरोध गरेका थिए, युनले कुनै पश्चाताप नगरेको र संवैधानिक व्यवस्थालाई अस्थिर बनाउने प्राथमिक जिम्मेवारी वहन गरेको तर्क गरिएको थियो ।

'युन सुक येओल र अरूले जनताले भोग्ने पीडालाई बेवास्ता गर्दै, व्यवस्थापिका र न्यायिक शाखाहरूलाई ओभरराइड गर्न मार्शल ल प्रयोग गरेर शक्ति एकाधिकार गर्ने र आफ्नो शासन विस्तार गर्ने प्रयास गरेको' विशेष वकिलले समापन बहसका क्रममा बताएका थिए ।

बचाउ पक्षले आरोपहरू अस्वीकार गर्दै युनको मार्शल लको घोषणा संवैधानिक सुरक्षाको रूपमा गरिएको र यसले विद्रोहको काम नभएको जिकिर गरेका थिए ।

यद्यपि, अदालतले युनको मार्शल ल ले 'राज्यको अधिकारलाई बहिष्कार गर्ने उद्देश्यले गरिएको हिंसात्मक विद्रोह' र 'कोरियाली क्षेत्र भित्रको संवैधानिक व्यवस्थालाई बाधा पुर्‍याउने' पाएको ठहर गर्यो । जुन कोरियाली कानून अन्तर्गत विद्रोहलाई परिभाषित गर्ने कारकहरू हुन्।

'प्रतिवादीको विद्रोहको कारण, हाम्रो समाज ध्रुवीकृत र द्वन्द्वको अवस्थामा पुगेको छ । हामी अर्को राष्ट्रपति चुनावबाट गुज्रिरहेका छौं, र धेरै मानिसहरू मुद्दाको सामना गरिरहेका छन् । धेरै साक्षीहरू आँसु बगाउँदै अदालतमा आउँछन्, उनीहरूले भोगेको क्षतिको कथा सुनाउँछन्' अदालतले भन्यो 'सामाजिक क्षति अतुलनीय छ।'

यसैबीच, अदालतले पूर्व रक्षामन्त्री किम योङ-ह्युनलाई शक्तिको दुरुपयोग र प्रमुख विद्रोह गतिविधिहरूमा भाग लिएको आरोपमा ३० वर्षको जेल सजाय सुनाएको छ । विद्रोहलाई सहयोग गरेको आरोपमा पूर्व राष्ट्रिय प्रहरी एजेन्सी कमिश्नर जनरल चो जी-होलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो भने कोरिया रक्षा गुप्तचर कमाण्डका प्रमुख नोह साङ-वनलाई १८ वर्षको जेल सजाय सुनाइएको छ ।

पूर्व सियोल प्रहरी प्रमुख किम बोङ-शिकलाई १० वर्षको जेल सजाय सुनाइएको थियो । राष्ट्रिय सभा प्रहरी सुरक्षा गार्डका प्रमुखलाई पनि तीन वर्षको जेल सजाय सुनाइएको थियो।

यद्यपि, अदालतले युनको मार्शल ल डिक्रीमा भूमिका खेलेको आरोपमा अन्य दुई प्रतिवादीलाई सफाइ दिएको छ ।

अध्यक्ष न्यायाधीशले फैसला सुनाएपछि युन समर्थकहरूले बिरोध जनाएका थिए ।

युनको असफल मार्शल ल घोषणाको ४४३ दिन पछि यो फैसला आएको हो । जसले लोकतन्त्रीकरण पछि देशको सबैभन्दा गम्भीर संवैधानिक संकट निम्त्याएको थियो ।

तत्कालीन प्रधानमन्त्री हान डक-सू र तत्कालीन आन्तरिक मन्त्री ली साङ-मिनसँग सम्बन्धित पहिलेका फैसलाहरूमा, अदालतले मार्शल ल डिक्रीलाई विद्रोहको कार्यको रूपमा चित्रण गरेको थियो ।