एजेन्सी ।
कम्बोडिया र थाइल्यान्ड ‘बिच दुई साता देखि जारी बिवाद र हप्तादिन देखि जारी सिमा युद्ध रोकिएको छ । दुवै देश विनाशर्त युद्धविराम’ गर्न सहमत भएका छन् । दुई देशका प्रधानमन्त्रीबीच मलेशियामा भएको शान्ति वार्तापछि युद्धविराममा सहमति भएको हो ।
मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले युद्धविराम स्थानीय समय अनुसार मध्यरातदेखि लागू हुने बताउनुभएको छ । उहाँले यो सहमतिलाई तनाव कम गर्ने तथा शान्ति र सुरक्षा पुनस्र्थापनाका लागि एक महत्त्वपूर्ण पहिलो कदमका रूपमा उल्लेख गर्नुभएको छ ।
गएको हप्ता कम्बोडिया र थाइल्यान्डका सेनाबीच विभिन्न सीमावर्ती क्षेत्रमा सङ्घर्ष हुँदा कम्तीमा ३३ जनाको ज्यान गएको छ भने हजारौं विस्थापित भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई वाशिङ्टनसँगको व्यापार वार्ताको पूर्वशर्तका रूपमा युद्धविराममा सहमत हुन आग्रह गरेपछि यो वार्ता भएको खबरमा उल्लेख छ । दुवै देशका नेताले ट्रम्पलाई धन्यवाद दिएका छन् ।
शान्ति वार्तामा अमेरिका र चीन दुवैका पर्यवेक्षकहरू पनि सहभागी थिए ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले यसलाई एकदमै राम्रो बैठकका रूपमा वर्णन गर्दै तुरुन्तै लडाइँ रोक्ने आशा व्यक्त गर्नुभएको छ । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाईले कम उत्साहित देखिए पनि युद्धविरामको सम्मान गर्ने वाचा गर्नुभएको खबरमा उल्लेख छ ।
शान्ति वार्ता चलिरहेको बेला पनि दुवै देशमा गोलाबारी र रकेटहरू निरन्तर बमबारी भइरहेका थिए ।