(Japan) 12 th October | 2025 | Sunday | 10:26:04 AM || (Nepal) 7:11:04 AM
 
 

माक्रोनको निडर घोषणा : प्यालेस्टाईन स्वतन्त्र राष्ट्र

  POSTED ON : Friday, 25 July, 2025 | Views : 486

माक्रोनको निडर घोषणा : प्यालेस्टाईन स्वतन्त्र राष्ट्र


एजेन्सी ।

फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले अमेरिका र इजरयाली चेतावनीका बावजुद यसै वर्षको आउँदो सेप्टेम्बरमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका छन् ।

यसको औपचारिक घोषणा अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभाको सत्रमा गरिने राष्ट्रपति म्याक्रोँले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत स्पष्ट पारेका छन् ।

आजको सबैभन्दा ठूलो आवश्यकता गाजामा युद्ध अन्त्य गर्नु र सर्वसाधारणको सुरक्षा गर्नु रहेको म्याक्रोनको भनाई छ ।

आफूहरूले तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ र गाजाका नागरिकलाई ठूलो मात्रामा मानवीय सहायता चाहेको फ्रान्सेली राष्ट्रपतिले ‘एक्स’ मा लेखेका छन् ।

प्यालेस्टिनी अधिकारीहरूले माक्रोनको निर्णयको स्वागत गरेका छन् ।

तर अन्तर्राष्ट्रिय अदालतबाट युद्ध अपराधी ठहर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने यो कदमको आलोचना गरेका छन् । उनले प्यालेस्टानलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिनु भनेको आतङ्कवादलाई पुरस्कृत गर्नु बराबर रहेको जिकिर गरेका छन् । तर उनि आफैं गाजा युद्धका एक युद्धअपराधि हुन् ।

फ्रान्सका राष्ट्रपतिले आफ्नो निडर घोषणामा मध्य पूर्वमा न्यायपूर्ण र दिगो शान्तिका लागि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने निर्णय गरिएको बताएका छन् ।

यस्तै फ्रान्सको घोषणामा अमेरिकाले पनि प्रतिक्रिया दिएको छ । गाजा नरसंहारमा इजरायलको साथ र हतियार सहयोग गर्दै आएको अमेरिकाले फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोनको प्यालेस्टाइनसम्बन्धी निर्णयलाई कडा रूपमा अस्वीकार गरेको बताएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो निर्णयले केवल हमास समूहको प्रोपोगान्डालाई बढावा दिने तर्क गरेका छन् ।

अहिले प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रहरूमध्ये १४० भन्दा धेरैले स्वतन्त्र राष्ट्रको मान्यता दिएका छन् । स्पेन र आयरल्यान्ड लगायत केही युरोपेली देशहरूले यसअघिनै प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिईसकेका छन् ।

तर इजरायलका मुख्य हतियार आपूर्तिकर्ता तथा समर्थकहरू अमेरिका, बेलायत, जर्मनी लगायत यसका सहयोगीहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएका छैनन् ।