(Japan) 12 th October | 2025 | Sunday | 10:21:06 AM || (Nepal) 7:06:06 AM
 
 

गाजामा इजरायली नाकाबन्दीले भोकमरीबाटै सयौंको मृत्यु, युद्धविरामबाट अमेरिका र इजरायल पछि हटे

  POSTED ON : Friday, 25 July, 2025 | Views : 360

गाजामा इजरायली नाकाबन्दीले भोकमरीबाटै सयौंको मृत्यु, युद्धविरामबाट अमेरिका र इजरायल पछि हटे


एजेन्सी ।

इजरायलले नाकाबन्दी गरेर खाद्यान्न आपूर्ती रोकेर बमबारी जारी राख्दा गाजामा दैनिक दर्जनौं गाजावासीको भोकमरीबाटै निधन हुन थालेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले हालसम्म कम्तिमा ११९ जनाको भोकमरीकै कारण अकालमा निधन भएको पुष्टि गरेको छ । अन्य सयौं खाद्यान्न अभावले भोकमरीका कारण मृत्युको मुखमा पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबिच कतारको राजधानी दोहामा गाजा युद्धविरामका लागि चलिरहेको बहुपक्षीय वार्ताबाट इजरायल र अमेरिका बाहिरिएका छन् ।

सुरुमा हमासले वार्ताका लागि कुनैपनि प्रस्ताव नल्याएको आरोप लगाएको अमेरिका र इजरायलले हमासको पछिल्लो प्रस्तावप्रति असन्तुष्टि जनाउँदै आफ्ना वार्ता टोलीहरू फिर्ता बोलाएका अल जजिराले जनाएको छ ।

अमेरिकी विशेष दूत स्टिभ विटकफले हिजो विज्ञप्ति निकालेर हमासले युद्धविराममा पुग्ने चाहना नै नदेखाएको आरोप लगाउँदै वार्ता छोट्याइएको घोषणा गरेका छन् ।

युद्ध अपराधी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले समेत इजरायली वार्ता टोली फिर्ता बोलाइएको पुष्टि गरेको छ ।

यता हमासले अमेरिकी आरोपप्रति आश्चर्य व्यक्त गर्दै आफू वार्ता जारी राख्न र स्थायी युद्धविरामतर्फ अघि बढ्न प्रतिबद्ध रहेको बताएको छ ।

हिजो नै हमासले कतार, इजिप्ट र अमेरिकाले तयार पारेको नयाँ युद्धविराम प्रस्तावमा आधिकारिक जवाफ दिएको थियो । यद्यपि, प्रस्तावको विवरण सार्वजनिक गरिएको छैन ।

अहिले छलफलमा रहेको प्रस्तावमा ६० दिने युद्धविराम अवधि, हमासद्वारा १० जीवित र १८ मृतक इजरायली बन्दीहरूको हस्तान्तरण, इजरायलद्वारा प्यालेस्टिनी बन्दीहरूको रिहाइ, र गाजामा मानवीय सहायता आपूर्तिको विस्तारको प्रावधान रहेको बताइएको छ । तर युद्धविरामपछि गाजाको राजनीतिक तथा सुरक्षा व्यवस्थाबारे गहिरो असहमति देखिएको छ ।

इजरायलले युद्धबिराम पछिपनि प्यालेस्टाईन र गाजामा दीर्घकालीन रुपमा सेना राख्ने माग गरेको छ जसमा हमासले मात्र नभई प्यालेस्टाईन सरकारले समेत पूर्ण रुपमा असहमती जनाएको छ ।

केही दिनअघि इजरायली रक्षा मन्त्री इजरायल काट्जले गाजामा एउटा मानवीय शहर निर्माण गरी प्यालेस्टिनीहरूलाई जबरजस्ती त्यहाँबाट लखेट्ने योजना अघि सारेका छन् । त्यसलाई अन्तर्राष्ट्रिय कानून विपरीतको कदम भन्दै विश्वभर व्यापक आलोचना भइरहेको छ ।

युद्धका कारण गाजामा गम्भीर मानवीय सङ्कट उत्पन्न भएको छ । इजरायली बमबारी र नरसंहारमा परि अहिलेसम्म करिब ६० हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ । दैनिक दर्जनौं प्यालेस्टाईनीको इजरायली सेनाले खाद्यान्न लिन तथा पानी लगायत अत्यावश्यक वस्तु लिन जाँदा समेत हत्या गरिरहेको खवरहरु आउने गरेका छन् ।