(Japan) 17 th April | 2026 | Friday | 10:13:55 AM || (Nepal) 6:58:55 AM
 
 


खाद्यान्न कुरेर बसेका ६७ प्यालेस्टिनीको इजरेली सेनाद्धारा गोली हानेर हत्या

  POSTED ON : Tuesday, 22 July, 2025 | Views : 628

खाद्यान्न कुरेर बसेका ६७ प्यालेस्टिनीको इजरेली सेनाद्धारा गोली हानेर हत्या


एजेन्सी ।

इजरेली सेनाले उत्तरी गाजामा संयुक्त राष्ट्रसङ्घीय सहायता लिएर आएका ट्रकहरूको प्रतीक्षामा बसेका ६७ जनाको गोली हानी हत्या गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले आफ्ना २५ वटा ट्रकको लस्कर इजरेलबाट सीमा पार गरेर जाँचचौकीबाट अगाडि बढ्नासाथ भोका सर्वसाधारण मानिसहरूको ठूलो भिड अगाडी आएको थियो । त्यहि समयमा इजरायली सेनाले भोका प्यालेस्टाइनी नागरिकहरुमाथि अन्धाधुन्ध गोली प्रहार गरि हत्इा गरेको डब्ल्यूएफपीले जनाएको छ ।

विगतमा भएका सयौं नरसंहारका यस्तै घटनामा जस्तै बहाना बनाउँदै इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले 'तत्कालको खतरा' हटाउने उद्देश्यले 'चेतावनी दिन केही गोली चलाइएको' र मृतकको सङ्ख्या त्यति नभएको जवाफदेहिबिहिन उत्तर दिएर पन्छिएको छ ।

शनिवार हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा भोकमरी चुलिएको र बढ्दो सङ्ख्यामा मानिसहरू 'निकै थकित अवस्थामा' आफ्ना केन्द्रहरूमा आइरहेको जनाएको छ ।

'हामी सयौँ मानिसहरू भोकमरीका कारण मृत्युको जोखिममा छन् भन्ने चेतावनी दिन चहान्छौँ' मन्त्रालयले भनेको छ। संयुक्त राष्ट्रसङ्घले पनि गाजामा सर्वसाधारण मानिसहरू भोकका कारण मरणासन्न भएको भन्दै त्यहाँ तत्काल अत्यावश्यक सामान पठाउन आग्रह गरेको छ ।

आइतवार मन्त्रालयले विगत २४ घण्टामा 'अनिकालका कारण' १८ जनाको मृत्यु भएको जनाएको थियो ।

उत्तरी गाजामा मारिएकामध्ये धेरैलाई गाजा सिटीस्थित शिफा अस्पतालमा लगिएको थियो। त्यहाँका चिकित्सकीय निर्देशक डा हसन अल-शाएरले आइतवार बीबीसी अरबिकसँग कुरा गर्दै आफ्नो अस्पतालमा धान्नै नसक्ने सङ्ख्यामा मानिसहरूलाई ल्याइएको बताए।

गाजामा बालबालिकाहरू भोकले मरिरहेका छन्, उनीहरूसँग खानका लागि केही पनि छैन। मानिसहरू पानी र नुनको भरमा बसेका छन् ।

गाजाको नागरिक रक्षा निकायले आइतवार इजरेली पक्षले प्रहार गरेर लागेर ९३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ मानिस घाइते भएको जनाएको छ। उसका अनुसार उत्तरी गाजामा ८० जनाको, दक्षिणी गाजाको रफाहस्थित एउटा सहायता केन्द्रनजिकै नौ जनाको र खान यूनिसस्थित एउटा सहायता केन्द्रनजिकै चार जनाको मृत्यु भएको छ।

गाजा सिटीमा समाचारसंस्था एएफपीसँग कुरा गर्दै कसिम अबु खातेरले आफूले एक थैलो पिठो लिने प्रयास गरेको तर त्यहाँ 'डरलाग्दो भिड र धकेकाधकेल' खेपेको बताए।

'ट्याङ्कहरूले हामीमाथि जथाभावी गोलाबारी गरिरहेका थिए अनि इजरेली सैनिकहरूले जङ्गलमा जनावरहरूको सिकार गरे जस्तै गरी गोली हानिरहेका थिए' उनले भने।

'मेरै आँखैअगाडि दर्जनौँ मानिसहरू शहीद भए र कसैले कसैलाई बचाउन सकेनन्।'

डब्ल्यूएफपीले सहायताको माग गर्ने नागरिकहरूमाथि हुने हिंसालाई 'पूर्णतया अस्वीकार्य' भन्दै उक्त घटनाको निन्दा गरेको छ।

'नब्बे हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको खाँचो परेकाले कुपोषण बढ्दै गएको छ' 'एक्स'मा प्रेषित एउटा विज्ञप्तिमा डब्ल्यूएफपीले भनेको छ। 'तीन जनामध्ये झन्डै एक जनाले कैयौँ दिनसम्म खान पाउँदैनन्।'

मे महिना अन्त्यतिरदेखि दिनहुँजसो खाद्यपदार्थ खोज्ने क्रममा प्यालेस्टिनीहरू मारिएको समाचार आइरहेका छ। शनिवार दक्षिणी गाजाका दुई सहायता वितरण केन्द्रनजिक इजरेली पक्षले गोली चलाउँदा कम्तीमा ३२ जनाको ज्यान गएको थियो ।

धेरै घटनाहरू अमेरिका र इजरेलसमर्थित विवादास्पद गाजा ह्यूमेनिटेरिअन फाउन्डेशन (जीएचएफ) द्वारा सञ्चालित क्षेत्रहरूनजिकै भएका छन् ।

इजरेलले गाजामा गरेका हमलाहरूमा परी झन्डै ५९,००० जनाको मृत्यु भइसकेको छ । इजरायली नरसंहारको बिरोध गर्दै तत्काल युद्ध रोक्न राष्ट्रसंघले गर्दै आएको प्रयासमा अमेरिकाले भिटो प्रयोग गर्दै इजरायली नरसंहारलाई साथ दिंदै आएको छ । त्यस बाहेक पनि जर्मनी, बेलायत लगायत देशहरुले पनि ईजरायली नरसंहारका वावजुद इजरायललाई हतियार आपूर्ति र अन्य सहयोग गर्दै आएका छन् ।