टोकियो, जापान ।
जापानले अमेरिकाले ३५ प्रतिशतसम्म कर लगाउने घोषणा गरिरहँदा ट्रम्पको त्यस्तो धम्कीसँग नडराउने र उनले भनेजस्तो सम्झौता पनि नगर्ने स्पष्ट पारेको छ ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले भन्सार शुल्कमा अमेरिकासँग सजिलै सम्झौता नगर्ने बताएका हुन् ।
जापानी प्रधानमन्त्री इशिबाले जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीलाई टोकियोले वेवास्ता गरिरहेको बताउँदै वाशिङ्गटनसँग वार्तामा सजिलै सम्झौता नगर्ने बताएका छन् ।
व्यापार सम्झौताका लागि बुधवारको समयसीमाअघि जापानले ट्रम्प प्रशासनसँग वार्ता गर्न हतार गर्दा प्रधानमन्त्रीको यस्तो टिप्पणी आएको हो ।
एनएचकेबाट प्रशारण हुने ‘सन्डे टेलिभिजन’ कार्यक्रममा जापानी प्रधानमन्त्री इशिबाले अमेरिकी अर्थतन्त्रमा सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रका रूपमा रहेको जापानलाई अमेरिकाले अन्य देशभन्दा फरक व्यवहार गर्नुपर्ने कुरा दोहोर्याएका छन् ।
यस्तै कार्यक्रममा इशिबाले ट्रम्पको पत्रलाई कसरी सामना गर्ने योजना छ भनेर सोध्दा जापानले सबै प्रकारका परिस्थितिहरूको सामना गर्न तयारी गरिरहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अप्रिलमा धेरैजसो व्यापारिक साझेदारहरूबाट आयातमा १० प्रतिशत भन्सार शुल्क लगाए पनि जापान लगायत देशहरूमा उच्च दरहरू घोषणा गरेका थिए । तरपछि वार्ताका लागि ठाउँ दिन त्यसपछि ९० दिन रोकेकोमा यो समयसिमा यही जुलाई ९ मा समाप्त हुनेछ ।
जुलाई १० बाट लागू हुनेगरि ट्रम्पले आदेशमा समेत हस्ताक्षर गरिसकेको बताईरहँदा जापान भने अमेरिकी नयाँ उच्च करबाट नडराउने मुडमा देखिएको छ ।