(Japan) 21 st April | 2026 | Tuesday | 5:38:03 PM || (Nepal) 2:23:03 PM
 
 


ट्रम्पद्धारा १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

  POSTED ON : Friday, 06 June, 2025 | Views : 1184

ट्रम्पद्धारा १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध


एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सुरक्षा खतरा रहेको भन्दै १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएका छन् । ट्रम्पले अन्य सात देशका नागरिकलाई पनि कडा निगरानि सहितको आंशिक प्रतिबन्धको आदेशमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले पूर्ण यात्रा प्रतिबन्ध लगाएका देशमा सोमालिया, चाड, रिपब्लिक अफ कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, अफगानिस्तान, म्यानमार, हाइटी र इरान छन् । यात्रा प्रतिबन्ध लगाइएका १२ मध्ये सात अफ्रिकी मुलुक रहेको र बाँकी एसियाली मुलुक रहेका छन् ।

अफ्रिकी युनियन (एयु) ले संयुक्त राज्य अमेरिकाले महाद्वीपका सात राष्ट्रमाथि लगाएको नयाँ यात्रा प्रतिबन्धको परिणामप्रति चिन्ता व्यक्त गरेको छ । एयुले एक विज्ञप्ति जारी गर्दै यात्रा प्रतिबन्धको अमेरिकासँग दशकौँदेखि स्थापित ‘जनता–जनताबिचको सम्बन्ध’मा क्षति पुग्ने बताएको छ । आंशिक रूपमा प्रतिबन्ध लागेका सात देशमा बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला छन् । 

अमेरिकाका स्थायी बासिन्दा र भिसा धारकलाई भने अमेरिका प्रवेशमा रोक लाग्नेछैन । 

ह्वाइट हाउसकी प्रवक्ता एभिगेल ज्याक्सनका अनुसार हाल प्रतिबन्ध लागेका देशले मानिसको पृष्ठभूमिको पर्याप्त जाँच गर्ने नगरेको बताइन् । साथै ती देशमा भिसा सर्तहरू उल्लंघन हुने वा खतरासम्बन्धी जानकारी साझा नहुने पनि उनले आरोप लगाइन् । ट्रम्पले लागू गरेको यो पहिलो यात्रा प्रतिबन्ध होइन ।

आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले सन् २०१७ मा केही मुस्लिम देशमा यस्तै प्रतिबन्ध लगाएका थिए । त्यो प्रतिबन्धले विभिन्न कानुनी चुनौतीको सामना ग¥यो । तिनमा धेरैपटक संशोधन गरिए । पछि सर्वोच्च अदालतले त्यसको कार्यान्वयनको अनुमति दियो ।

त्यस समयमा, प्रतिबन्ध लागेका देशका हजारौँ पर्यटक, आप्रवासी, व्यावसायिक पाहुना र पहिले नै आवास अनुमति पाएकाहरू विश्वभरका विमानस्थलमा अलपत्र परेका थिए । कति मानिस अमेरिकाको विमानस्थलबाट समेत फर्काइएका थिए ।

त्यही वेलाको प्रतिबन्धसँग जोडेर वासिंटन राज्यकी डेमोक्य्राटिक पार्टीकी कंग्रेस सदस्य प्रमिला जयपालले अहिले लागेको प्रतिबन्ध पहिलो कार्यकालमा लगाइएको मुस्लिम प्रतिबन्धको विस्तार भएको प्रतिक्रिया दिएकी छिन् ।